जेरुसेलम, १५ जेठ । इजरायलले गाजायुद्ध भड्काउने अक्टोबर २०२३ मा भएको आक्रमणका मुख्य योजनाकार तथा हमासका कथित गाजा नेता तथा याह्याका भाइ मोहम्मद सिनवारको मृत्यु भएको बुधबार जनाएको छ ।
सन् २०२३ को अक्टोबरमा हमासले इजरायलमाथि गरेको आक्रमणपछि सुरु भएको युद्ध ६०० औँ दिनमा प्रवेश गरेको दिन नेतान्याहुले आफ्नो सेनाको उपलब्धिको प्रशंसा गर्दै उक्त घोषणा गरेका हुन् ।
‘पुनरुत्थानको युद्ध’को ६०० दिनमा हामीले वास्तवमै मध्यपूर्वको मुहार परिवर्तन गरेका छौँ,’ उनले संसदमा भने । प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले इजरायली संसदलाई सम्बोधन गर्दै भने, ‘हामी गाजा पट्टीमा बलपूर्वक प्रवेश गर्यौँ र ‘आतङ्ककारी’हरूलाई हाम्रो भूमिबाट बाहिर निकाल्यौँ । दशौँ हजार ‘आतङ्कवादी’हरूको सफाया गरयौँ । हमासका कथित नेता मोहम्मद सिनवारको अन्त्य ग¥यौँ ।’
यसै महिनाको सुरुमा दक्षिणी गाजामा इजरायली हवाई आक्रमणमा सिनवारलाई निशाना बनाइएको इजरायली सञ्चारमाध्यमले जनाएका छन् । सन् २०२४ को अक्टोबरमा उहाँका दाजुको इजरायली आक्रमणमा मृत्यु भएको थियो ।
संयुक्त राष्ट्रसङ्घले गाजामा खाद्यान्न वितरण स्थलमा इजरायली आक्रमण भएका कारण दर्जनौं मानिस घाइते भएका भन्दै अमेरिका र इजरायलसमर्थित सहायता प्रणालीको आलोचना गरिरहेका समय बुधबार सिनवारको मृत्युको घोषणा आएको हो ।







