काठमाडौँ, १ जेठ । सांसद सपना राजभण्डारीले खाना पकाउने ग्यास सिलिन्डर लिक भएर आगलागीका घटना बढ्दै गएकोप्रति आज संसद बैठकमा बोल्दै सरकारको ध्यानाकर्षण गराएकी छिन् ।
हिजो काठमाडौँको मखनटोलमा आगलागी हुँदा दयाराम श्रेष्ठको घर जलेर सखाप भएको थियो । आगलागी बेलैमा नियन्त्रण नहुँदा सँगैका तीन घर पनि क्षति भएका थिए । आगलागीबाट एक वृद्धाको निधन भएको थियो ।
यसबारे सांसद राजभण्डारीले भनिन्, “यो निकै पीडादायी घटना हो । यस्तो घटना फेरि नदोहोरियोस् भनी राज्यका सबै निकायले गम्भीर भई नियन्त्रणका उपायहरू बेलैमा अपनाउन म अनुरोध गर्छु ।”
धेरैजसो आगलागीका घटना ग्यास लिक भएर हुने गरेको उनले बताइन् । “यसअघि नक्सालको एक रेस्टुरेन्टमा ग्यास सिलिन्डर पड्केर त्यहाँ काम गर्ने एकजनाको मृत्यु भएको थियो,” उनले भनिन्, “यस्ता दुर्घटनाबाट कसरी बच्ने ? महानगरपालिका र संघीय सरकारले समन्वय गरी तत्काल सुरक्षित उपाय खोजी गर्नु जरुरी छ ।”