काठमाडौँ, २६ बैशाख । इजरायली सेनाको शुक्रबार जारी वक्तव्यअनुसार, गाजा पट्टीको दक्षिणी क्षेत्रमा बिहीबार भएको दुई फरक आक्रमणमा दुई जना इजरायली सैनिकको मृत्यु भएको छ भने तीन जना गम्भीर घाइते भएका छन् ।
पहिलो आक्रमणमा, २० वर्षीय लडाकु इन्जिनियर सार्जेन्ट यिशाई उरबाचको ज्यान गएको थियो, जब हामासका लडाकुहरूले राफाहस्थित एक भवनमा आरपीजी (रकेट–प्रोपेल्ड ग्रेनेड) प्रहार गरेका थिए ।
उक्त भवनमा इजरायली सैनिकहरू तैनाथ थिए । सो हमलामा दुई अन्य सैनिक घाइते भए, जसमध्ये एकको अवस्था गम्भीर छ । घाइतेहरूलाई हेलिकप्टरमार्फत इजरायलको केन्द्रीय अस्पतालमा लगिएको थियो ।
दोस्रो आक्रमणमा, २१ वर्षीय सार्जेन्ट याम फ्रिड एक ट्याङ्कमा भएको विष्फोटमा मारिएका थिए । राफाहमै भएको उक्त आक्रमणमा प्रयोग गरिएको आईईडी (विस्फोटक उपकरण) ट्याङ्कलाई लक्षित गरिएको थियो । ट्याङ्कमा रहेका दुई अन्य सैनिक गम्भीर घाइते भएका छन् ।