बागलुङ, २६ बैशाख । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले लोकतन्त्र र गणतन्त्रको विकल्प राजतन्त्र नभएको बताएका छन् ।
उनले राजनीतिक दलहरु सच्चिएर जनताकहाँ पुग्नुपर्ने उल्लेख गर्दै नेपालमा गणतन्त्र निर्विकल्प भएको बताए ।
‘प्रतिगामी खतराविरुद्ध सङ्घर्ष गरौँ, गणतन्त्रको रक्षा गरौँ’ नाराका साथ राष्ट्रिय जनमोर्चा बागलुङले आज बागलुङ बजारमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष केसीले लोकतन्त्र र गणतन्त्रको रक्षाका लागि सबै राजनीतिक दल एकताबद्ध हुन आवश्यक रहेको बताए ।
“सबै मिलेर पञ्चायत फालियो, राजतन्त्र फालियो, अहिले गणतन्त्रका विषयमा राजावादीले भ्रम सृजना गरे, एकपटक लोकतन्त्र र गणतन्त्रका लागि सबै राजनीतिक दल एकजुट बनौँ”, अध्यक्ष केसीले भने, “राजावादीको तीनकुने आन्दोलन अराजकताको पराकाष्टा हो, न्यायिक छानबिन हुनुपर्छ, राजावादीहरु सल्बलाउन थाले, सबै दल मिलेर लोकतन्त्रका पक्षमा जुटौँ ।”