काभ्रेपलाञ्चोक, २६ बैशाख । नमोबुद्ध नगरपालिकाका चार वटा वडाका बालबालिकामा हेपाटाइटिस सङ्क्रमण भएको छ ।
नगरको केन्द्र भकुण्डेबेँसी वरपरका ती वडाका केही बिरामी परेका र स्थानीय अस्पतालमा उपचार गराएकामध्ये १८ बालबालिका सङ्क्रमित भएका मेथिनकोट अस्पतालका चिकित्सकहरूले बताएका छन् ।
मेथिनकोट अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा त्रिभुवनचन्द्र झाका अनुसार वडा न २, ३, ४ र ६ का बालबालिका तथा नजिकको विद्यालयमा अध्ययनरत विद्यार्थीमा सङ्क्रमण देखिएको हो । उनले पानी वा खानेकुराबाट सङ्क्रमण भएको हुनसक्ने आशङ्कामा नमूना सङ्कलन गरी परीक्षणमा पठाइएको बताए । सङ्क्रमितमध्ये अस्पतालमै कार्यरत एकजना चिकित्सकसमेत रहेको पाइएको छ ।
मङ्लबारदेखि जन्डिसलगायतक लक्षणसहित बिरामी अस्पताल आउन थालेपछि नमूना सङ्कलन गरी परीक्षण गर्दा हेपाटाइटिस सङ्क्रमण पुष्टि भएको अस्पतालले जनाएको छ । मेडिकल सुपरिटेन्डेन्ट झाले ‘हेपाटाइटिस–ए’ वा ‘इ’ हो भन्नेबारे परीक्षणपछि मात्रै यकिन गर्न सकिने बताए ।