काठमाडौँ, २४ वैशाख । शुक्रबारदेखि प्रदर्शन तयारीमा रहेको फिल्म ‘जार’लाई प्रिमियर गरिएको छ ।
नेपालीभाषी बहुल पूर्वोत्तर भारतका सिक्किम र सिलिगुडीमा प्रिमियरपछि मंगलबार ललितपुरस्थित क्यूएफएक्सको हलमा प्रिमियर गरिएको हो ।
मगर समुदायको संस्कृति झल्किने नृत्यसहित सुरु भएको प्रिमियरमा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, कांग्रेस सांसद उदय जबरा, नेतृ हिसिला यमी, फिल्मकर्मीहरू मनीषा कोइराला, विपिन कार्की, केकी अधिकारी, प्रदीप भट्टराई, ज्ञानेन्द्र देउजा, दीपेन्द्र लामा, नवल नेपाल लगायत सहभागी थिए ।
फिल्म हेरेपछि नेता भट्टराईले इन्द्रबहादुर राईको कथामा बनेको २०० सय वर्ष पुरानो परिवेशको यो फिल्ममार्फत नयाँपुस्ताले तत्कालिन समाज र जार प्रथाको इतिहास बुझ्न सजिलो हुने बताए ।
उनले भने, ‘पाठकले रुचाएको कथालाई निर्देशकले उही मर्ममा कलात्मक शैलीले प्रस्तुत गर्नुभएको छ । नयाँ पुस्ताले नेपालको इतिहास बुझ्नका लागि पनि चलचित्र ‘जार’ हेर्नुपर्छ भन्ने मलाई लागेको छ,’ ‘आफूले आईएसीमा पढेको इन्द्रबहादुर राईको जार कथालाई आज चलचित्रमा हेर्न पाउँदा निकै आनन्द आयो ।’