काठमाडौँ, २ वैशाख । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले देशको अर्थतन्त्र चलायमान बनाउन सरकारले गहनरूपमा काम गरिरहेको बताएका छन् ।
आज ललितकला मेला, २०८२ को उद्घाटन समारोहमा मन्त्री पाण्डेले सबै कुरामा निराश भएरमात्रै नहुने बताए । अहिले देशको अर्थतन्त्र अप्ठेरो स्थितिमा रहेको उल्लेख गर्दै उनले देशको अर्थतन्त्र चलायमान बनाउनुपर्ने जिम्मेवारी रहेको बताए ।
उनले भने, “देशको अर्थतन्त्र उठाउनुपर्ने, देशको अर्थतन्त्र चलायमान बनाउनुपर्ने, चारैतिरबाट अर्थतन्त्र चलायमान बनाई, बलियो बनाई हाम्रा भौतिक संरचना र हाम्रा नवीन कार्यक्रम दिनुपर्ने उत्तरदायित्व हाम्रो काँधमा छ । त्यो दिशामा सरकारले मसिनो ढंगले मिहिनेत र प्रयास गरिरहेको छ । त्यसको प्रतिफल विस्तारै प्राप्त गर्दै जानेछौँ ।”