काठमाडौँ, २२ चैत । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी) ले बिहीबार युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीलाई पत्र लेख्दै एनओसीमाथि सरकारी हस्तक्षेप नगर्न भनेको छ ।
आईओसीले मन्त्रीलाई नेपाल ओलम्पिक कमिटी (एनओसी) को विवाद समाधानतर्फ अग्रसर रहेको पनि जनाएको छ ।
आईओसीले पत्रमा जोड दिएको छ, आफूहरूले निरन्तर रूपमा एनओसी विधान तथा निर्वाचन विवादसम्बन्धी अध्ययन गरिरहेको छ । समाधान पनि चाँडै आउने छ ।
यसअघि मन्त्री चौधरीले एनओसीको विधान संशोधन र निर्वाचनपछि उत्पन्न परिस्थितिबारे आईओसीसँग पत्रचार गरिरहेको बताएका थिए । त्यसैको जवाफस्वरुप आईओसीले पत्र लेखेको हो । मन्त्रीलाई पठाएको पत्रमा आईओसी सम्बन्ध, ओलम्पिक सोलिडारिटी एन्ड ओलम्पिजम विभागका निर्देशक जेम्स म्याकलियोडले हस्ताक्षर गरेका छन् ।
पत्रमा भनिएको छ, ‘ओलम्पिक काउन्सिल अफ एसिया (ओसीए) को पहलमा कुवेतमा एनओसी र पाँच राष्ट्रिय संघबीच सम्झौता भएको तपाईंलाई थाहा नै छ । त्यसअनुसार पाँच संघलाई एनओसीले सदस्यता पनि दिइसकेको छ । सम्झौताअनुसार ती पाँच संघले अदालतमा दायर गरेको मुद्दा पनि फिर्ता लिइसकेको विश्वास छ ।’