काठमाडौँ, ५ चैत । महिला राष्ट्रिय फुटबल खेलाडी एन्जिला तुम्बापो सुब्बाको जीवन संघर्षमा आधारित फिल्म ‘अञ्जिला’ हेर्न र प्रचारमा सघाउन अखिल नेपाल फुटबल संघ (एन्फा)ले आग्रह गरेको छ ।
सातै प्रदेशका फुटबल संघ, ४८ जिल्ला फुटबल संघ, संघमा आबद्ध रेफ्री, खेलाडी, प्रशिक्षक र महिला फुटबल संघसहित ४ संघ, शहिद स्मारक ए, बी, सी डिभिजन क्लबलाई एन्फाले पत्र लेखेर उक्त आग्रह गरेको हो ।
नजिकको हलमा सामूहिकरुपमा फिल्म अवलोकन गराउन, जनमानसमा प्रोत्साहन जगाउनको लागि फिल्मको पोस्टर, भिडियो, क्लिप सामाजिक संजालमा सेयर गर्न एन्फाको आग्रह छ । एन्फा महासचिव किरण राईले धेरै भन्दा धेरै दर्शकमाझ फिल्म पुर्याउन आग्रह गरेका छन् ।