काठमाडौँ, ४ फागुन । संयुक्त राष्ट्रसंघीय मिसनअन्तर्गत लेवनानमा खटिएका नेपाली शान्ति सैनिकमाथि आक्रमण भएको छ ।
फागुन ३ गते रातिको करिब १२ बजे लेबनानको राजधानी बेरुतनजिक मिसनका डेपुटी फोर्स कमान्डर नेपाली सेनाका उपरथी चोकबहादुर ढकालमाथि आक्रमण भएको नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालय जंगी अड्डाले जनाएको छ ।
घटनाको सम्बन्धमा यूएन मिसन हेडक्वार्टरले प्रेस विज्ञप्ति जारी गर्दै दक्षिण लेबनानमा सुरक्षा र स्थिरता स्थापना गर्न सेवा गरिरहेका शान्ति सैनिकमाथि भएको आक्रमणबाट स्तब्ध भएको जनाएको छ ।
शान्ति सैनिकमाथि भएको आक्रमणको निन्दा गर्दै संयुक्त राष्ट्रसंघले लेबनानी सरकारलाई घटनाको तत्काल अनुसन्धान गरी आवश्यक कारबाहीको माग गरेको छ । अस्पतालले हाल उनी खतरामुक्त रहेको जनाएको छ । डेपुटी फोर्स कमान्डर ढकाल आफ्नो कार्यकाल पूरा गरेर स्वदेश फर्कने क्रममा रहेका थिए ।
