काठमाडौँ, ३० माघ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नसर्ने रोग पहिचान र समयमै उपचारका लागि भन्दै बिहीबारदेखि एक महिने परीक्षण अभियान थाल्न लागेको छ ।
निरोधात्मक विधिबाट रोगहरुविरुद्ध प्रतिकारात्मक अभियान चलाउने मन्त्री प्रदीप पौडेलको घोषणाअनुसार स्वास्थ्य मन्त्रालयले परीक्षण अभियान थाल्न भएको हो । गत महिना मन्त्री पौडेलले गत मंसिर १६ गते निर्देशिका स्वीकृत गरेका थिए । यसलगत्तै मन्त्रालयले परीक्षण अघि बढाउने कार्यक्रम अघि बढाएको हो ।
मन्त्री पौडेलले भने, ‘हामीले सार्वजनिक गरेको योजना तथा प्राथमिकतामा उपचारात्मक सेवा व्यवस्थित गरेसँगै निरोधात्मक विधिबाट नागरिकलाई रोगको दुष्चक्रबाट यथासम्भव जोगाउने योजना अन्तर्गत अभियान थालिएको हो,’ ‘नागरिकको आधारभूत स्वास्थ्य परीक्षण अनि सचेतनाका माध्यमबाट सकेसम्म रोग लाग्नै नदिने तथा लागेको खण्डमा समयमै उपचारबाट नागरिकको स्वास्थ्य र नागरिक तथा राज्य दुवैको धनराशि जोगाउने हाम्रो प्रयत्न जारी छ ।’