निषेधको नीति लिएको माओवादीको ‘समाजवादी’ कार्यक्रममा अब योग र ध्यान पनि

काठमाडौँ, २९ माघ । माओवादीले औपचारिक रूपमा योग र ध्यानलाई पनि आफ्नो ‘समाजवादी’ कार्यक्रममा जोडेको छ । सशस्त्र युद्धका बेला अध्यात्मसँग जोडिएका सबै गतिविधिलाई निषेधको नीति लिँदै आएको माओवादीले समाजवादी कार्यक्रममा योग र ध्यानलाई समावेश गरेको हो ।

पुस अन्तिम साता केन्द्रीय समितिले पारित गरेको अध्यक्ष पुष्पकमल दाहालको राजनीतिक प्रतिवेदनमा योग र ध्यान शिविर आयोजना गर्ने उल्लेख छ । आइतबार तल्ला समितिमा कार्यान्वयनका लागि पठाएको प्रतिवेदनमा योग र ध्यानलाई वैज्ञानिक रूपमा आत्मसात् गर्न निर्देशन दिइएको हो ।

‘पार्टीको आठौं महाधिवेशनले लिएको निर्णयअनुरूप सबै पार्टी समिति र सदस्यले योग र ध्यानलाई वैज्ञानिक रूपमा आत्मसात् गर्दै त्यसलाई नियमित अभ्यासको विषय बनाइनु पर्दछ,’ प्रतिवेदनमा भनिएको छ, ‘योग र ध्यान शिविरहरूको आयोजना गरिनु पर्दछ ।’

माओवादीले ‘द्वन्द्वात्मक भौतिकवाद’ लाई मान्दै आएको छ । मार्क्स र एङ्गेल्सले द्वन्द्वात्मक भौतिकवादलाई विज्ञान तथा प्रकृतिमा आधारित दर्शनका रूपमा अघि सारेका थिए । जुन दर्शनले संघर्ष, एकता र परिवर्तनमा विश्वास राख्छ । माओवादीले पथप्रदर्शक सिद्धान्तका रूपमा अँगाल्दै आएको मार्क्सवाद, लेनिनवाद र माओवाद (मालेमावाद) ले योग र ध्यानलाई स्थान दिएको छैन ।

माओवादी महासचिव देव गुरुङले पार्टीको आगामी कार्यक्रममा योग र ध्यानलाई राख्नुको मुख्य कारण शारीरिक तन्दुरुस्तीका लागि भएको उल्लेख गर्दै यो कतै पनि अध्यात्मतिर नजोडिएको बताए ।

‘शरीरलाई स्वस्थ राख्न योग र ध्यान गर्न आवश्यक भएकाले कार्यक्रममा समावेश गरिएको हो,’ उनले भने, ‘यसलाई एउटा शारीरिक अभ्यासको विधिका रूपमा लिइएको हो । यो विषयलाई कतै पनि अध्यात्मतिर जोड्न खोजिएको होइन ।’

राजनीतिक दलले योग र ध्यानलाई आफ्नो कार्यक्रममा समेट्दा ‘आहार, विहार र विचार’ शुद्धीकरणमा योगदान गर्ने योग अभियन्ताको भनाइ छ । योग अभियन्ता रामदेवी महर्जनले सम्पूर्ण प्राणीका लागि आवश्यक पर्ने योगलाई माओवादीले आफ्नो कार्यक्रममा समेट्नु राम्रो विषय भएको बताइन् ।

‘योग र ध्यानले शरीर र मनलाई सन्तुलित रूपमा राख्छ । यो मानवजातिलाई आवश्यक पर्छ,’ उनले भनिन्, ‘राजनीतिक दलले योग र ध्यानलाई आफ्नो कार्यक्रमका रूपमा अघि बढाउँदा पक्कै पनि हाम्रो आहार, विहार र विचार शुद्धीकरणमा सहयोग पुग्छ ।’ यससँगै माओवादीले विचारधारात्मक र सांगठिनक कार्यक्रम पनि अघि बढाउन तल्ला पार्टी समितिहरूलाई निर्देशन दिएको छ ।

पार्टीमा विचार एवं सिद्धान्तको महत्त्वलाई उपेक्षा गर्ने प्रवृत्ति बढ्दै गएको उल्लेख गर्दै माओवादीले वैचारिक सैद्धान्तिक स्खलन भएको निष्कर्ष निकालेको छ । ‘त्यसैले यतिबेला पार्टीका निम्ति विचारको महत्त्वलाई आत्मसात् गर्नु, पार्टीको विचारधारात्मक राजनीतिक कार्यदिशालाई एकरूप ढंगले पक्रनु र विचारको विकासको दिशामा अग्रसर हुनु अत्यन्त आवश्यक छ,’ अध्यक्ष दाहालको निर्देशनमा भनिएको छ, ‘अध्ययन, छलफल र वैचारिक अभियानलाई क्रान्तिकारी पार्टी जीवनको अभिन्न अंग बनाउनु पर्दछ ।’

केन्द्रीय पार्टी स्कुल विभाग व्यवस्थित रूपमा निरन्तर सञ्चालन गर्न समाजवादी क्रान्तिसम्बन्धी पाठ्यक्रम तयार गरी नियमित रूपमा पार्टी कक्षा सञ्चालन गर्ने माओवादीले प्राथमिकतामा राखेको छ । ‘आजको मार्क्सवाद र वैज्ञानिक समाजवादसँग सम्बन्धित विषयमा स्पष्ट हुने गरी विचारको विकास गर्न पार्टी नेतृत्वले अध्ययन अनुसन्धान प्रक्रियालाई गम्भीर रूपमा अघि बढाउनेछ,’ आइतबार तल्ला समितिमा पठाएको निर्देशनमा भनिएको छ । माओवादीले आन्तरिक लोकतन्त्रलाई प्रभावकारी रूपमा अघि बढाउने तर अराजकतालाई नियन्त्रण गर्न परिपत्र गरेको छ ।

‘पार्टीको संगठनात्मक सिद्धान्त जनवादी केन्द्रीयताको प्रभावकारी कार्यान्वयनमा जोड दिनु पर्दछ,’ परिपत्रमा भनिएको छ, ‘अहिले पार्टी संगठनमा जनवादमा जोड दिंदै गर्दा पुँजीवादी जनवाद र अराजकताको अभ्यास मौलाउँदै गएको छ । साथै केन्द्रीयताको अभ्यास वास्तविक जनवादको जगमा आधारित नभएर नोकरशाही केन्द्रीयताका रूपमा अभिव्यक्त हुने गरेको छ ।’

माओवादीले संगठनात्मक सिद्धान्त र पद्धतिको पालना नभए कारबाही गर्ने चेतावनी दिएको छ । ‘जुनसुकै तहको नेता, कार्यकर्ता, सदस्य भए पनि पार्टीको विधि, पद्धति, निर्णय र अनुशासनको उल्लंघन गर्नेमाथि अधिकारप्राप्त निकायले बिनाहिचकिचाहट भेदभावरहित रूपमा अनुशासनको कारबाही गर्नु पर्दछ,’ परिपत्रमा भनिएको छ, ‘यसका लागि अनुशासन आयोगलाई सक्रिय बनाइनु पर्दछ ।’

तर माओवादीले अनुशासनको पालना वा कारबाहीको सन्दर्भमा पद्धतिसम्मत गरिने विचार अभिव्यक्ति, भिन्न मत वा आलोचनाको स्वतन्त्रतालाई कुण्ठित नगर्न पनि अध्यक्ष दाहाल र महासचिव गुरुङको निर्देशनमा भनिएको छ ।

सम्पत्ति विवरण बुझाउन निर्देशन

माओवादीले आर्थिक पारदर्शिताका लागि केन्द्रीय सदस्यले सम्पत्ति विवरण केन्द्रीय कार्यालयमा बुझाउन निर्देशन पनि दिएको छ । ‘प्रत्येक वर्ष पार्टी केन्द्रीय समितिका सदस्यले सम्पत्ति विवरण अद्यावधिक गरी केन्द्रीय कार्यालयमा बुझाउनु पर्नेछ,’ परिपत्रमा भनिएको छ, ‘तीनै तहको सरकारमा सहभागी भएका, संघीय सांसद तथा प्रदेश सभाका सदस्य रहेका, उच्च तहको राजनीतिक नियुक्तिको जिम्मेवारीमा रहेका कमरेडहरूले जिम्मेवारी पाएको एक महिनाभित्र सम्पत्ति विवरण बुझाउनु पर्नेछ । र, सेवा अवधिभर हरेक वर्ष अद्यावधिक गर्नुपर्ने छ ।’ माओवादीले केन्द्रीय पदाधिकारीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्ने प्रतिबद्धतासमेत दिएको छ ।

काठमाडौं उपत्यकामा विशेष अभियान चलाउने

माओवादीले संगठन संघीय राजधानी काठमाडौं उपत्यकामा निकै कमजोर भएको भन्दै विशेष अभियान चलाउन निर्देशन दिएको छ । उपत्यकामा विशेष योजनासहितको अभियान सञ्चालन गर्न निर्देशन दिएको हो ।

उपत्यकाको ऐतिहासिक, पुरातात्विक सांस्कृतिक महत्त्वको व्यक्तित्व, सम्पदा, संस्थाहरूको सम्मान र जगेर्ना, व्यवस्थित सहरीकरण र बसोबास, परम्परागत सम्पदा, सांस्कृतिक धरोहर र संस्कृतिको रक्षासहितको विकासमा सहयोग गर्न तल्ला समितिलाई निर्देशन दिएको छ । ‘उपत्यका विशेष अभियानलाई औपचारिकतामा मात्रै सीमित गर्ने कार्यक्रम किमार्थ बनाइनु हुँदैन,’ परिपत्रमा भनिएको छ ।

यसै गरी युवाहरूलाई पार्टीमा जोड्ने कार्यक्रम पनि माओवादीले सार्वजनिक गरेको छ । ‘युवाहरूलाई क्रान्तिकारी विचारमा आधारित राजनीतिमा आकर्षित गर्न र कम्युनिस्ट तथा क्रान्तिकारी आन्दोलन र पार्टीमा संगठित गर्न उपयुक्त विधि, प्रस्तुति र उपायका बारेमा विशेष योजना बनाउन गम्भीर छलफल गरी निष्कर्ष लिकालिनु पर्दछ,’ परिपत्रमा भनिएको छ, ‘युवा शक्तिसँग पार्टीको सम्बन्ध सुदृढ गर्न एक विशेष अभियान सञ्चालन गर्न जरुरी छ । यसको ठोस कार्यक्रम केन्द्रीय कार्यालयले बनाउनेछ । त्यसका लागि एक विशेष कार्यदल बनाई कार्यशाला गर्नु जरुरी छ ।’ कान्तिपुर File photo

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २५ असोज । आईसीसी विश्वकप लिग २ अन्तर्गत क्याडाविरुद्धको खेलमा रोहित पौडेलले शतक बनाएका छन् । ओमानस्थित अल अमिरातमा जारी

काठमाडौँ, २५ असोज । नेपाली सेनाले गोरखाको बूढीगण्डकी नदीमा आएको बाढीका कारण जोखिममा परेका ३६ जनाको उद्धार गरेको छ । नेपाली

काठमाडौँ, २५ असोज । साउदी अरेवियामा बढ्दो तनावका बीच काठमाडौँबाट दमामका लागि निर्धारित उडान रद्द भएको छ । हिमालय एयरलाइन्सले यस

काठमाडौँ, २५ असोज । बजारमा कागतीको मूल्य बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांक अनुसार आज