काठमाडौँ, २८ माघ । पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी(जसपा) नेपाल आफ्नो अडानमा कायमै रहे सरकारले ल्याएको अध्यादेश राष्ट्रिय सभाबाट पारित नहुने बताएका छन् ।
आज जनकपुरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले जसपा नेपालले आफ्नो अडानमा कायमै राख्ने विश्वास व्यक्त गरे ।
उनले भने, ‘देशको स्थिति असहज भइराखेको छ । सदनमा अध्यादेश पेस भएका छन् । तर रोकिएर बसेको स्थिति छ । सरकारले गलत नियतले सदन बोलाउने बेलामा अध्यादेश ल्यायो । प्रतिक्रियाको दृष्टिकोण र सारको दृष्टिकोणले पनि त्यसको उद्देश्य गलत देखिएको छ’, ‘विधि प्रक्रियासम्बन्धी विषयमा अहिलेसम्म उहाँहरू(जसपा नेपालका नेताहरूतर्फ लक्षित गर्दै) अडिनु भएको छ । जहाँसम्म अडिनुहुन्छ जस्तै लाग्छ मलाई । मुद्दालाई नै छोडेर खाली सरकारको निम्ति जानुहुन्छ जस्तो मलाई लाग्दैन । हुन त निर्णय गर्न पनि बाँकी छ । सायद उहाँले केन्द्रीय समिति बैठक पनि बोलाउनुभएको थियो । यदि उहाँले अडान छोड्नु भएन भने राष्ट्रियसभाबाट अध्यादेश पारित नहुने स्थिति बन्दैछ ।’