मन्त्री भएकाका छोराछोरीका आरक्षण कोटा बन्द गर्नुपर्छ: उपमहासचिव पुन

काठमाडौँ, ६ माघ । नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं पूर्वमन्त्री वर्षमान पुन अनन्तले मन्त्री भएकाका छोराछोरीका आरक्षण कोटा बन्द गर्नुपर्ने बताएका छन् । 

निर्वाचनमा आफैँ प्रतिस्पर्धा गर्न सक्ने वर्गका मानिसहरू नै समानुपातिक प्रणालीबाट संसदमा आएका कारण प्रश्न खडा भएको टिप्पणी गरेका छन् । पार्टी सम्बद्ध विद्यार्थी संगठन अखिल क्रान्तिकारीको चिकित्सा शास्त्र अध्ययन संस्थान, महाराजगन्ज चिकित्सा क्याम्पस (एमएमसी–आईओएम) इकाई सम्मेलनमा बोल्दै पुनले समावेशिता र समानुपातिक प्रतिनिधित्वको दुरुपयोग भएकाले त्यसलाई सच्याइनुपर्ने बताए । 

सोही कारण आफूहरूले लोकतन्त्रको सर्भिसिङ हुनुपर्ने बहस अघि बढाएको उनले बताए । ‘समावेशिता चुनाव लड्न नसक्नेका लागि हो । प्रतिस्पर्धाका लागि योग्य बनाउन पछि परको समुदाय र वर्गका मान्छेलाई अवसर दिने भन्ने त्यसको उद्देश्य हो’, पुनले भने, ‘लुप होल’ बाट प्रतिस्पर्धा गर्न नसक्नेहरूका लागि छुट्याएको कोटामा प्रतिस्पर्धाका लागि सक्षम र सक्नेहरू तीन पटकसम्म सांसद/मन्त्री भइरहेका छन् । अब यसलाई रोक्नुपर्छ ।’ 

उनले सरकारी सेवामा विकट गाउँका गरिब बाहुन, मधेसी, जनजाति र कर्णालीजस्ता पिछडिएको क्षेत्रका लागि छुट्याइएको आरक्षण काठमाडौँसहित सहरका निजी स्कुल र क्याम्पसमा पढ्नेहरूले लिन नहुनेमा जोड दिए । अवसर पाएका र नपाएकाहरूबिच प्रतिस्पर्धा गराइन नहुने भन्दै पुनले अवसर पाउने–पाउने र नपाउने–नपाउनेबीचको प्रतिस्पर्धा मात्र न्यायोचित हुने चर्चा गरे । पुनले आफू जनजाति समुदायको भए पनि आफ्ना छोराछोरीले कोटाबाट सरकारी सेवामा प्रवेश गर्न नमिल्ने तर्क गरे । चुनाव लडेर प्रतिस्पर्धामार्फत आउन सक्ने महिला, जनजाति, दलित वा मधेसी नेताले समानुपातिक प्रणालीबाट संसदमा आउन रोक्नुपर्ने पुनले बताए । 

प्रतिस्पर्धा गर्न नसक्ने वर्गलाई माथि उठाउन समानुपातिक र समावेशिताको अवधारणा अघि सारिएको भए पनि सक्षम वर्गले त्यही नाममा अवसर लिएका कारण जनतामा त्यसप्रति नकारात्मक धारणा विकास हुन थालेको पुनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ४ फागुन । संयुक्त राष्ट्रसंघीय मिसनअन्तर्गत लेवनानमा खटिएका नेपाली शान्ति सैनिकमाथि आक्रमण भएको छ ।   फागुन ३ गते

काठमाडौँ, ४ फागुन । बागमती प्रदेश सरकारले आफ्ना यातायात व्यवस्था कार्यालयमा रहेका करिब २३ लाख सवारी साधनका ढड्डा, फाइल तथा

काठमाडौँ, ४ फागुन । विकासशील राष्ट्रको समूहमा स्तरोन्नति भएपछि नेपालले पाउने अनुदान र सहुलियतपूर्ण ऋणमा १० देखि १५ प्रतिशत प्रभाव पर्ने

भक्तपुर, ३ फागुन । नेकपा (एमाले)को पोलिटव्यूरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नतले पछिल्लो समय नयाँ शक्ति र स्वतन्त्रको नाममा आएका