गाजामा इजरायली हमलामा कम्तीमा ३० जनाको मृत्यु

गाजापट्टी, २० पौष । इजरायली आक्रमणमा बिहीबार रातिदेखि शुक्रबार बिहानसम्म गाजामा बालबालिकासहित कम्तीमा ३० जनाको मृत्यु भएको अस्पतालका कर्मचारीहरूले बताएका छन् ।

मध्य गाजाको नुसिरात, जावैदा, मघाजी र देइर अल बलाहलगायत विभिन्न स्थानमा भएको आक्रमणमा एक दर्जनभन्दा बढी महिला र बालबालिकाको मृत्यु भएको अल अक्सा सहिद अस्पतालका कर्मचारीहरूले बताए ।

अघिल्लो दिन पनि यस क्षेत्रमा दर्जनौँ मानिस मारिएका थिए । यसले विगत २४ घन्टामा मृत्यु हुनेको संख्या ५६ पुगेको छ ।
इजरायली सेनाले पछिल्ला आक्रमणबारे तत्काल टिप्पणी गरेको छैन तर उसले लडकूहरूलाई मात्र लक्षित गर्ने र नागरिक मृत्युको जिम्मेवारी हमासलाई दिने गरेको छ ।

बिहीबार हमासका सुरक्षा अधिकारी र इजरायली घोषित मानवीय क्षेत्रमा आक्रमण भएको थियो । शुक्रबार बिहान मारिनेमध्ये स्वतन्त्र पत्रकार ओमार अल–देरावी पनि थिए । एसोसिएटेड प्रेसका पत्रकारहरूले साथीहरू र सहकर्मीहरूलाई अस्पतालमा उनको शवमा शोक मनाउँदै गरेको देखे । उनको कफनको माथि प्रेस भेस्ट राखिएको थियो ।

शुक्रबार बिहान इजरायलीहरू पनि आक्रमणको सामना गर्न बाध्य भए । इजरायलले यमनबाट देशभित्र क्षेप्यास्त्र प्रहार गरिएको बताएको छ । क्षेप्यास्त्र प्रहार भएपछि जेरुसेलम र मध्य इजरायलमा हवाई सायरन बज्यो र मानिसहरूलाई आश्रयमा भाग्न बाध्य बनायो । तत्काल कुनै क्षति वा घाइतेको खबर आएको छैन । यद्यपि जेरुसेलममा क्षेप्यास्त्र वा इन्टरसेप्टरका कारण हल्का विस्फोट सुनिएको थियो । इजरायली सेनाले एउटा क्षेप्यास्त्र रोकेको जनाएको छ ।

आक्रमण भइरहेकै बेला शुक्रबार युद्धविराम वार्ताको प्रयास पुनः सुरु हुने अपेक्षा गरिएको छ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको कार्यालयले मोसाद गुप्तचर एजेन्सी, सिन बेट आन्तरिक सुरक्षा एजेन्सी र सेनाको प्रतिनिधिमण्डललाई कतारमा वार्ता जारी राख्न अधिकार दिएको बताएको छ । प्रतिनिधिमण्डल शुक्रबार कतारका लागि प्रस्थान गर्दैछ ।

अमेरिकाको नेतृत्वमा भएका वार्ताहरू १५ महिने युद्धको अवधिमा पटक–पटक रोकिएका छन् । हमास नेतृत्वका लडाकुहरूले सन् २०२३ अक्टोबर ७ मा इजरायलमा गरेको आक्रमणबाट युद्ध सुरु भएको थियो । लडाकुहरूले अधिकांश सर्वसाधारण गरी करिब एक हजार दुई सय जनाको हत्या गरेका थिए र करिब २५० जनालाई अपहरण गरेका थिए । गाजामा अझै करिब १०० बन्धक छन् । तीमध्ये कम्तीमा एक तिहाइ मृत भएको विश्वास गरिएको छ ।

गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार इजरायलको जवाफी कारबाहीमा गाजामा ४५ हजार पाँच सयभन्दा बढी प्यालेस्टिनीको मृत्यु भएको छ । यसमा आधाभन्दा बढी महिला र बालबालिका छन् । मन्त्रालयले आफ्नो तथ्यांकमा नागरिक र लडाकुबीच भिन्नता देखाउँदैन । हमासका लडाकुहरू घना आवासीय क्षेत्रमा काम गर्ने भएकाले इजरायली सेनाले आफूले लडाकुहरूलाई मात्र लक्षित गर्ने र नागरिक मृत्युको जिम्मेवारी हमासलाई दिने गर्छ । सेनाले प्रमाण नदिई १७ हजार लडाकु मारेको दाबी गरेको छ ।

युद्धले व्यापक विनाश गरेको छ र गाजाका २३ लाख जनसंख्याको ९० प्रतिशतलाई विस्थापित गरेको छ । तीमध्ये धेरै एकभन्दा बढी पटक विस्थापित भएका छन् । एपी


प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २४ असाेज । काठमाडौँको गोङ्गबुस्थित नयाँ बसपार्कमा चाडपर्वमा घर जाने यात्रुलाई लक्षित गरी निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ । काठमाडौँ

घोराही, २४ असोज । जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु भएको छ । गढवा गाउँपालिका-१ वनघुस्री निवासी तीन वर्षीया

हेटौँडा, २४ असोज । अरिंगाल पोल्ने क्रममा रुखबाट खसेर गम्भीर घाइते भएका मकवानपुरको थाहा नगरपालिका–१, बाराहीचौरका ३० वर्षीय उत्सव गोपालीको

काठमाडौँ, २४ असोज । सुर्खेतका विभिन्न स्थानका जंगलमा लुकाइछिपाइ राखिएका १८ नाल भरुवा बन्दुक प्रहरीले बरामद गरेको छ । प्रहरी टोलीले