एजेन्सी, १ पौष । पाकिस्तानका सूचना तथा प्रसारणमन्त्री अताउल्लाह तरदारले पूर्वप्रधानमन्त्री इमरान खानको पार्टी पाकिस्तान तेहरिक–ए–इन्साफ (पीटीआई)ले हिंसाको राजनीति बढाएको आरोप लगाएका छन् ।
पीटीआईको प्रदर्शन कहिल्यै शान्तिपूर्ण नरहेको उनको आरोप छ । उनले पीटीआईका कार्यकर्ताले नोभेम्बर २६ मा इस्लामावादमा आधुनिक हतियार, स्टेन गन, अश्रु ग्यास र ग्रेनेडसहित हिंसा फैलाएको आरोप लगाएका छन् । अताउल्लाहले ९ मे र २६ नोभेम्बरलाई पाकिस्तानको इतिहासमा सबैभन्दा कालो दिनको रूपमा व्याख्या गरे ।
“पीटीआईले शवको राजनीति गर्न चाहन्छ । देशमा अशान्ति फैलाएर आफ्नो राजनीतिक स्वार्थ पूरा गर्न चाहन्छ,” उनले भने ।जेलमा रहेका पीटीआईका संस्थापक इमरान खानले सरकारले देशलाई जातीय आधारमा विभाजन गरेको जवाफ फर्काएका छन् । एक्समार्फत इमरानले सरकारले जातीय आधारमा पश्तूनहरूलाई निशाना बनाएको बताएका छन् ।






