भक्तपुर, २८ मंसिर । भक्तपुर आत्महत्या न्यूनिकरण तथा व्यवस्थापनको लागि जिल्ला स्तरीय आत्महत्या न्यूनिकरण तथा व्यवस्थापन अभियान समिति गठन गरिएको छ ।
जिल्ला प्रहरी परिसर भक्तपुरका प्रमुख तथा प्रहरी उपरिक्षक माधव बुढाथोकीको संयोजकत्वमा जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख शान्तिराम खतिवडा सहसंयोजक रहने गरि १४ सदस्यीय अभियान समिति गठन गरिएको हो । अन्य सदस्यहरुमा सरोकारवाला विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थाहरुको प्रतिनिधि रहने गरि समिति गठन गरिएको छ ।
समितिका सदस्यहरुमा भक्तपुर अस्पतालबाट मनोचिकित्सक डा.दुर्गा थापा,जिल्ला आर्युवेद स्वास्थ्य केन्द्र प्रमुख डा.नदन कंडेल,जिल्ला शिक्षा समन्वय ईकाई प्रमुख कमला ज्ञवाली,सदरमुकाम स्थित स्थानीय निकाय भक्तपुर नगरपालिकाबाट डा.रत्न सुन्दर लासिवा, नेपाल रेडक्रस सोसाईटी भक्तपुरबाट सभापति प्रशुराम पाण्डे,नेपाल स्काउटबाट बालकृष्ण बनमाला,उद्योग वाणिज्य संघबाट अध्यक्ष रोशनी मैया धौवन्जार,चेम्बर अफ कमर्शबाट कविदास श्रेष्ठ,होटल व्यावसायी संघबाट कैलाश धौवन्जार,पत्रकार महासंघबाट सचिव संजीप घिमिरे,योग ध्यानबाट पातञ्जल योग समिति नेपालका वरिष्ठ उपाध्यक्ष डा.नबराज काफ्ले र लागु औषध दुव्र्यसनी पुनस्र्थापना केन्द्रबाट हरि बहादुर बस्नेत रहेका छन् ।
जिल्ला प्रशासन कार्यालय भक्तपुरका प्रमुख जिल्ला अधिकारी एवं अभियान समितिका सल्लाहकार गोपाल प्रसाद अर्यालको अध्यक्षतामा बसेको विशेष भेलाले सो समिति गठन गरेको हो । नेपाल प्रहरी प्रधान कार्यालयबाट स्विकृत आत्महत्या न्यूनिकरण तथा व्यवस्थापन सम्बन्धी कार्ययोजना २०८१ अनुसार यो अभियान समिति परिचालित हुने बताईएको छ । यसले आत्महत्याको जोखिममा रहेका नागरिकहरुको पहिचान गरी जीवन रक्षा गर्नुका साथै आवाश्यकता अनुसार परामर्श र उपचार सेवाको लागि सहजीकरण गर्नु तथा आमनागरिकहरुलाई सुसूचित गराई सकारात्मक मनोभावनाको विकास गरी आत्महत्याको दरलाई न्यूनिकरण गर्नु यो कार्ययोजनाको मुख्य लक्ष्य देखिएको छ ।
अभियान समितिका सल्लाहकार एवं प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद अर्यालले आत्महत्याको वर्तमान अवस्था अत्यन्त भयावह रुपमा देखिन लागेको औल्याउदै जिल्ला प्रशासन कार्यालय भक्तपुरका सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा आत्महत्या सँग जोडिएका विभिन्न समसामयिक विषयवस्तुमा गहन अध्ययन गरि अभियान समितिलाई २ हप्ताभित्र रायसुझाव दिन एक कार्यदल गठन गरिने उल्लेख गर्नुभयो । अभियान समितिका संयोजक तथा जिल्ला प्रहरी परिसर प्रमुख माधव बुढाथोकीले यस अभियान समितिले कार्ययोजना २०८१ अनुसार आत्महत्या न्यूनिकरणको लागि सरोकारवाला विच जिल्ला,नगर देखि वडातहसम्म आत्महत्या न्यूनिकरण तथा व्यवस्थापन कार्यदल तथा आत्महत्याको जोखिममा रहेका लक्षित वर्गहरुको पहिचान गर्न सुचना संकलन डेस्क गठन गरि तत्काल कार्यारम्भ गरिने उल्लेख गर्नुभएको छ ।