नयाँ दिल्ली, १३ मंसिर । ‘भूल भुलैया ३’ कार्तिक आर्यनको अहिलेसम्मको करियरको सबैभन्दा धेरै कमाउने फिल्म बनेको छ ।
अनीस बज्मीको निर्देशनमा बनेको यो फिल्ममा कमेडीको साथमा हररको तड्कालाई दर्शकले निकै मन पराइरहेका छन् ।
रुह बाबा र मञ्जुलिकाको जुगलबन्दीले पर्दामा यस्तो जादु गरिरहेको छ कि रिलिज भएको २७ औँ दिन पनि फिल्म हेर्न हलमा दर्शकको ओइरो लागिरहेको छ । १५० करोड भारुमा बनेको यस फिल्मले पहिलो हप्तामै १५८ करोड २५ लाख भारु कमाएर बजेट उठाइसकेको थियो । पहिलो हप्ताको कमाइले नै फिल्मले बक्स अफिसमा नयाँ कीर्तिमान रच्ने सङ्केत गरेको थियो ।
माधुरी दीक्षित, विद्या बालन र तृप्ति डिमरीको मुख्य भूमिका रहेको यो फिल्मले बक्स अफिसमा लगातार राम्रो प्रदर्शन गरिरहेको छ । फिल्मले दर्शकको मनमा राम्रो ठाउँ बनाएको छ । फिल्ममा हलुका हास्य, रोचक ट्विस्ट र केही डरलाग्दो दृश्यहरू पनि छन् जसले दर्शकहरूलाई बोर हुन दिँदैन ।