काठमाडौँ, १० मंसिर । फिलिपिन्सको राजधानी मनिलाको एक आवासीय समुदायमा आइतबार भएको भीषण आगलागीमा परी कम्तीमा दुई हजार व्यक्ति घरविहीन भएका स्थानीय अधिकारीले बताएका छन् ।
मनिला सिटी फायर डिपार्टमेन्टका अग्निनियन्त्रक अलेजान्ड्रो रामोसले पत्रकारहरुलाई बताएअनुसार मनिलामा बिहान भएको आगलागीबाट करिब एक हजार घरटहरा जलेर नष्ट भएका छन् ।
फिलिपिन्सको वायु सेनाले ‘मनिला बे’ क्षेत्रमा अवैध बसोवास गर्नेहरूको जलिरहेको वस्तीको आगो निभाउन पानीको प्रयोग गर्न हेलिकप्टरहरू पठाएको थियो। फिलिपिन्सको तटरक्षक बलले पनि आगो नियन्त्रणमा लिन चारवटा दमकल पठाएको जनाएको छ ।






