काठमाडौँ, ७ मंसिर । आज शुक्रबारदेखि देशभरका फिल्म हलहरूमा ‘तेल भिसा’ र ‘अग्निदहन’ फिल्महरू प्रदर्शनमा आएका छन् ।
‘तेल भिसा’का निर्देशक शंकर घिमिरेले निर्देशन गरेका हुन् भने ‘अग्निदहन’मा घनश्याम लामिछानेको निर्देशन रहेको छ । यद्यपि देशभरका फिल्म हलमा यी दुवै फिल्मले कब्जामा जमाउन पाएको छैनन् । किनभने केही साताअगाडि रिलिज भएको फिल्म ‘पुर्णबहादरको सारङ्गी’ र अघिल्लो साताको ‘ह्रस्व दीर्घ’ले पनि अझै धेरै हल ओगटेर बसेका छन् ।
विपिन कार्कीको दोहोरो भूमिका रहेको फिल्म ‘तेल भिसा’ अमेरिकामा बसोबास गरेका नेपालीहरूले त्यहाँ पुगेर भोग्नु भएका समस्या, पीडा तथा दुःखलाई चित्रण गरिएको फिल्म हो । मल्टिप्लेक्स तथा सिंगल थिएटरहरूमा उत्साहजनक शो पाएको फिल्ममा विपिनको अलावा वर्षा राउत, ऋचा घिमिरे, पूजा चन्द, बुद्धि तामाङलगायत कलाकारको अभिनय छ ।
‘अग्निदहन’ साहित्यकार तथा पत्रकार लोकमणि पौडेलको उपन्यास ‘अग्निदहन’मा आधारित रहेर निर्माण गरिएको फिल्म हो । प्रकाश घिमिरे, माओत्से गुरुङ, कोविदशरण उपाध्याय, अनुपमा भण्डारी, प्रमीला तुलाचन, तुलसी क्षेत्री, ताराबहादुर गुरुङलगायतको अभिनय फिल्ममा छ ।