जनतालाई सेवा प्रदान गर्ने कुरामा कुनै कमजोरी हुन नदिन मन्त्री गुरुङको निर्देशन

काठमाडौँ, १९ असोज । संचार तथा सूचना प्रबिधि मन्त्री पृथ्बी सुब्बा गुरुङगले नेपाल टेलिकमको देशभरको सम्पूर्ण टेलिकम सेवाहरुको संचालनको अवस्थाको अनुगमन गर्न सकिने एकीकृत नेटवर्क अपरेसन सेन्टरमा आकस्मिक निरीक्षण गर्नु भएको छ ।

उक्त अवसरमा उहाँले केहि दिन अघि आएको भिषण बाढीका कारण अबरुद्ध सेवा तत्काल संचालन गर्ने सबै सरोकारवाला र सहभागी टिमलाई विशेष धन्यवाद व्यक्त गर्नुभयो । हालको सेवा प्रवाहको अवस्था, केहि विशेष कारण मर्मत हुन नसकेका लिंकहरुको बैकल्पिक बिधिबाट सेवा सुचारु गरिएका प्रणालीको अबस्थाको जानकारी लिनु भयो । विद्युत प्राधिकरण तथा सडक पूर्वाधारसँग भर पर्नु पर्ने विषयमा गम्भीर चासो राख्दै मन्त्री गुरुङले आवश्यकता अनुसार सम्बन्धित सरोकारवालाहरुलाई समन्वय गर्न सधै तत्पर रहेको उल्लेख गर्नुभयो । रात दिन खटेर सेवा सुचारु गर्ने सबैलाई धन्यवाद व्यक्त गर्दै उहाँले उनीहरुको कामको उच्च मुल्यांकन गरेको बताउनुभयो ।

अझै पनि छिटफुट स्थानमाविद्युत, सौर्य उर्जाका कारण सेवा प्रवाहमा समस्या रहेको उल्लेख गर्दै मन्त्री गुरुङले उक्त समस्या यथाशिघ्र समाधान गर्न र आवश्यक समन्वय र सहकार्यका लागि मन्त्रालय सधै साथमा रहेको प्रतिवद्धता जनाउनुभयो । उहाँले जुनसुकै अवस्था र समयमा अप्ठ्यारो परेको विषय गाठो फुकाउन तत्पर रहेको प्रतिबद्धता समेत उल्लेख गर्नु भयो । मन्त्री गुरुङले देशभर संचालनमा रहेका सिस्टम तथा लिंकहरुको अवस्था, २४ घण्टा नेटवर्क अनुगमनमा रहेका समस्याहरु, जनशक्ति, साधन श्रोत उपलब्धताको अवस्था एवम टेलिकमको सेवाको गुणस्तर र सेवा प्रवाह उच्चतम् ध्यान दिई गुनासोमुक्त सेवा प्रवाह गर्न निर्देशन दिनुभयो ।

मन्त्री गुरुङले नेपाल टेलिकमको देश भर सेवा प्रबाहका लागि संचालनमा रहेका दुर संचार उपकरणहरु, अप्टिकल फाइबर, माइक्रो वेभ तथा स्याटेलाइट लिंक मार्फत दुर संचार उपकरण जोडी संचालनमा ल्याईएको नेटवर्क, बैकल्पिक रुटहरुको व्यवस्था, तिनीहरुको अबस्था, सेवा प्रवाहमा काम गर्ने निकायमा रहेको जनशक्तिको अवस्था, श्रोत साधनको अवस्था लगायतका बिषयमा प्रत्यक्ष सहभागी भई सरोकारवालाहरु संग साक्षात्कार गर्नुभयो ।

वर्षा र बाढीका कारण समस्या भएका दुर संचार पुर्बाधारहरुको अब बाँकी छिटफुट कार्य सम्पन्न गर्न कहाँ कहाँ समस्या छ र मन्त्रालयको समन्वय, सहकार्य र सहयोगको विषयमा गम्भीर चासो राख्दै उहाँले नेपालीहरुका महान चाडबाडहरुमा सामान्य अवस्था भन्दा आहिलेको अवस्थामा सेवा ग्राहीहरुको आवत जावतमा व्यापक वृद्धि हुने भएकोले सेवा ग्राहीलाई कुनै खालको समस्या अनुभूत हुन नदिन नेटवर्क तथा सिस्टमहरुलाई संचालन गर्ने बन्दो बस्ति मिलाउन, बिशेष संयन्त्र बनाएर चुस्त रुपमा संचालन गर्न निर्देशन दिनुभयो ।

उहाँले भन्नुभयो, ‘नेपाली इञ्जिनिएरहरु हरेक कार्यमा अब्बल छन्, संसारका जस्ता सुकै उन्नत भनिएका सेवा प्रबाह गर्ने कम्पनीका भन्दा नेपाल टेलिकमको एकीकृत नेटवर्क अपरेसन सेन्टर अब्बल रहेको छ । जुन सुकै बेला देशको कुनै पनि स्थानको नेटवर्कको अवस्था, ट्राफिकको विवरण, गुणस्तर र सेवा अबिछिन्नताको पारदर्शी अनुगमन सम्भब रहेको यस खालका केन्द्रहरुलाई अझै सशक्तिकरण गर्नु पर्नेछ । यसलाई थप जनशक्ति, थप साधन श्रोत र थप आवश्यक आधुनिक तालिमहरु निरन्तर प्रदान गर्नु पर्ने कुरामा समेत बिशेष ध्यान दिनुपर्छ ।’

मन्त्री गुरुङले ‘डिजिटल नेपाल फ्रेमवर्क’ सफल पार्न नेपाल टेलिकमको महत्त्वपूर्ण भूमिका रहेको बताउनुभयो । नेपाल टेलिकमको जावलाखेल स्थित कार्यालयमा नेटवर्क सञ्चालन प्रणालीको निरीक्षण गर्दै सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री गुरुङले दक्षिण एसियामा नेपालमा सूचना प्रविधिको महत्त्वपूर्ण सम्भावना भएको क्षेत्र भएको बताउनुभयो । नेपाल टेलिकमले सेवाको प्रभावकारिता वृद्धि गर्दै लैजानुपर्नेमा जोड दिँदै उहाँले व्यवसायिकता एवं सेवाको गुणस्तर पनि सुधार्नुपर्ने बताउनुभयो ।
“फोन राम्रोसँग टिप्दैन भनेर गुणस्तरमा धेरैले प्रश्न उठाइरहेका छन्, कभरेज कम भयो भन्ने छ, यसमा सुधार हुनुपर्छ, टेलिकमले कभरेज, गुणस्तरमा जोड दिनुपर्छ, सबै काम सफल पार्न टेलिकमको भूमिका हुन्छ”, मन्त्री गुरुङले भन्नुभयो, “टेलिकम्युनिकेसनमा निजी क्षेत्र व्यापार गर्न आउने हो । हामीले त कम जनशक्ति भएको ठाउँमा पनि जोड दिनुपर्छ । स्थानीय तहदेखि केन्द्रीय सरकारसम्म सुशासन कायम गर्नका लागि टेलिकमको भूमिका महत्त्वपूर्ण छ ।”

मन्त्री गुरुङले यसै वर्ष केन्द्रका सबै मन्त्रालय र कार्यालयमा ‘इ–गभर्नास्’ सुरु गरिने बताउँदै यो सेवा सुरु भएसँगै जनताको धेरै खर्च कटौती हुने बताउनुभयो । “तपाईंहरूले पूर्वाधार पुर्‍याइ दिनुपर्यो , हालसम्म पनि स्थानीय तहका सबै वडामा नेपाल टेलिकमको सेवा पुगेको छैन । एउटा स्थानीय तहमा सेवा पुर्यौउन पनि धेरै मेहनत गर्नुपर्छ,” उहाँले भन्नुभयो ।

सूचना प्रविधि दशक घोषणा भए पनि बजेटले त्यसलाई नसमेटेको बताउँदै मन्त्री गुरुङले आगामी दिनमा आवश्यकता अनुरूप खर्च व्यवस्थापन गरेर काम गर्नुपर्ने बाध्यता रहेको उल्लेख गर्नुभयो । “नीतिबिना कार्यक्रम हुँदैन, बजेटबिना कार्यक्रम सम्भव हुँदैन, अब आवश्यकताअनुसार मिलाउँदै जाने हो । कानुन नियम नमिलेको छ भने पनि भन्नुहोला, सबै मिलेर सफल पार्नुपर्छ,” उहाँले भन्नुभयो ।

दिगो विकास लक्ष्य पूरा गर्ने सन्दर्भमा टेलिकमको ध्यानाकर्षण गराउँदै मन्त्री गुरुङले हातले मात्रै काम गरेर दिगो विकास लक्ष्य पूरा हुन नसक्ने धारणा राख्नुभयो । केन्द्रीय तहबाट देशैभरिका नेटवर्कहरू सञ्चालन भए नभएको, समस्या के भएको छ भन्ने हेर्ने र अनुगमन कक्षको निरीक्षणका क्रममा मन्त्री गुरुङ समक्ष टेलिकमका उपप्रबन्धक रवीन्द्र खैँजुले नेटवर्किङ प्रणाली र सञ्चालनबारेमा प्रस्तुतीकरण गर्नुभयो ।

उक्त आकस्मिक निरीक्षण कार्यक्रममा मन्त्री गुरुङ, मन्त्रालयका सचिव राधिका अर्याल, मन्त्रालयका सूचना प्रबिधि बिज्ञ डा। शालिग्राम पराजुली, नेपाल टेलिकमका प्रबन्ध निर्देशक संगीता पहाडी, मन्त्रीको प्रमुख स्वकीय सचिव विक्रम न्यौपाने, नेपाल टेलिकमका सिटीओ अमुल प्रधान, सिओओ सबिना मास्के, सिएचआरओ सुरज सिंह थापा, सिएफओ राजेन्द्र अर्याल, कम्पनी सचिव द्वारिका पौडेल, एकीकृत नेटवर्क अपरेसन सेन्टरका इन्चार्ज रबिन्द्र ख्वाउजुलगायतको टिम र नेपाल टेलिकमका विभिन्न कार्यालयका कार्यालय प्रमुख सहित कम्पनीका उच्च पदस्थ कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १७ कार्तिक । ‘नेपालमै उत्पादित फूलको माला लगाऔँ, नेपाली हुनुको गौरव बढाऔँ’ भन्ने नाराका साथ धनगढीका चोक तथा गल्लीमा

काठमाडौँ, १७ कार्तिक । कार्तिक शुक्ल प्रतिपदा एवं यमपञ्चक अर्थात् तिहारको चौँथो दिन आज गोरु र कृषकको पूजाआजा गरी मीठो खानेकुरा

काठमाडौँ, १७ कार्तिक । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको तरकारी र फलफूलको भाउ तोकेको छ ।  गोलभेडा

काठमाडौँ, १७ कार्तिक । नेपाल संवत् ११४५ आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । यस संवत्लाई हाल नेवार समुदायले नयाँ