भक्तपुर, १८ असोज । चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले नगरबासीको आर्थिक उत्थानमा सहकारीको योगदान अतुलनीय रहेको बताएका छन् ।
बिहीबार चाँगुनारायण नगरपालिका–७, खरिपाटीमा श्री युवा बचत तथा ऋण सहकारी संस्थाले आयोजना गरेको सहकारीको २६ औं साधारणसभालाई सम्बाेधनगर्दै नगरप्रमुख खत्रीले नगरबासीको आर्थिक उत्थानमा सहकारीको योगदान अतुलनीय रहेको बताएका हुन् ।
उनले भने, ‘श्री युवा सहकारीले उत्कृष्ट वित्तीय सेवा दिएको छ । यसले गर्दा सदस्यहरुको आर्थिक समृद्धिका लागि निकै नै फाइदा पुगेको छ ।’ वचतकर्ताहरुले जम्मा गरेको रकमलाई विभिन्न शीर्षकमा ऋण परिचालन गरेर सहकारीले धेरै स्थानीयलाई आत्मनिर्भरताको बाटोमा डोहोर्र्याएको खत्रीले बताए ।
सहकारीको मुख्य उद्धेश्य आफ्ना सदस्यहरुलाई आर्थिक रुपमा सबल र सक्षम बनाउनु नै रहने र श्री युवा सहकारी उक्त उद्धेश्य प्राप्तीमा सफल रहेको नगरप्रमुख खत्रीले बताए । ‘सहकारीको मुख्य उद्धेश्य समुदायको आर्थिक उत्थान हो, कानुनी परिधिमा रहेर आर्थिक समृद्धितर्फ अग्रसर गराउने उद्धेश्यलाई श्री युवा सहकारीले कार्यान्वयनमा ल्याएको छ ।’, उनले भने ।
कार्यक्रममा सहकारीका अध्यक्ष प्रकाश बास्तोलाले सहकारीले स्थापनाकालदेखि नै समाजलाई आत्मनिर्भर बनाउनका लागि विभिन्न योजना बनाएर अगाडि बढीरहेको दाबी गरे । समाज र आफ्ना वचतकर्ताप्रति सधैं वफादार रहेर अघि बढ्दा चाँगुनारायण र भक्तपुर मात्र नभएर बागमती प्रदेशमै उत्कृष्ठ बन्न सफल भएको उनले दाबी गरे । ‘सुरुदेखि नै हामी हरेक पक्षलाई सक्नेसम्मको वित्तिय टेवा दिनका लागि लागिपरेका छौं । हरेक क्रियाकलाप समाज र वचतकर्ताको हितमा नै गर्दै आएका छौं । स्थापनाको २५ औं वर्षमा आइपुग्दा हामी बागमती प्रदेशकै उत्कृष्ट समेत बन्न सफल भएका छौं ।’, अध्यक्ष बास्तोलाले भने ।