काठमाडौँ, १५ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले बाढी, पहिरो र डुबानका कारण जनताले भोगिरहेको पीडालाई साझा राष्ट्रिय पीडा मानेर सहयोग गर्न सबैमा आह्वान गरेका छन् ।
आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित पत्रकार सम्मेलमा बोल्दै प्रधानमन्त्री ओलीले यो बेलामा जनताले भोगिरहेको पीडालाई साझा राष्ट्रिय पीडा मानेर खोज, उद्धार, राहत र सहयोगमा साथ दिन आह्वान गरेका हुन् ।
उनले भने, “यो सरकारको मात्रै होइन, सिङ्गो समाजको दुःखको विषय हो । हामी सबै विपद्का घटनाबाट दुःखी छौँ,” “कतिपय संरचनागत त्रुटिका कारण पनि क्षतिहरु भएका छन् । आगामी दिनमा संरचना निर्माण गर्दा विपद्को सामना गर्न सक्ने र दीर्घकालीनरुपमा सबल संरचना बनाइनेछ ।”
प्रधानमन्त्री ओलीले सरकारको पूर्व तयारी भन्दा ठुलो मात्रामा विपद् आएकाले उद्धार र खोजमा कमीकमजोरी भएको हुनसक्ने तर आगामी दिनमा त्यस्ता कुराहरुलाई सच्याउने प्रतिबद्धता व्यक्त गरे ।