काठमाडौँ, १५ असोज । बलिउड अभिनेता तथा शिवसेना (शिन्दे गुट)का नेता गोविन्दाको आफ्नै गल्तीले खुट्टामा गोली लागेको छ । उनको आफ्नै रिभल्वरबाट गोली लागेको हो । त्यसपछि तत्काल उनलाई अस्पताल लगिएको थियो ।
गोविन्दा मुम्बईस्थित आफ्नो घरमा रिभल्वर सफा गर्दै गर्दा उनको खुट्टामा गोली लागेको बताइएको छ । भारतीय सञ्चारमाध्यम जागरणका अनुसार, मंगलबार बिहान करिब ५ बजे (स्थानीय समय) उक्त घटना भएको हो ।
त्यति बेला उनकी श्रीमती सुनीता घरमा थिइनन् । उनी जयपुरमा थिइन् । तर, खबर सुन्नेबित्तिकै त्यहाँबाट निस्किइन् ।
गोविन्दाका म्यानेजरले समाचार एजेन्सी एएनआईलाई भने, “उनले आफ्नो लाइसेन्स प्राप्त रिभल्वर कभरमा राख्दै थिए, त्यसै बेला खुट्टामा खस्यो र गोली लाग्यो ।” गोविन्दा कोलकाता जान लागेका थिए ।
चिकित्सकले उनको खुट्टाबाट गोली निकालेका छन् । अहिले उनी पूर्णतया स्वस्थ छन् । तर, अझै अस्पतालमा छन् ।