काठमाडौँ, १४ असोज । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले विपद्जन्य अवस्थाको फाइदा उठाउँदै पर्वको मुखमा महङ्गी, कालोबजारी र कृत्रिम अभाव सिर्जना हुनसक्नेतर्फ सचेत हुँदै मातहतका निकायलाई कडाइ गरेर प्रभावकारी रुपमा बजार अनुगमन गर्न निर्देशन दिएका छन् ।
उनले वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक राजन पौडेललाई मन्त्रालयमै डाकेर पछिल्लो विपद्को फाइदा उठाउँदै बजारमा हुने ठगी नियन्त्रणमा निर्मम भएर देशव्यापी रुपमा अनुगमन गर्न निर्देशन दिएका हुन् ।
उनले भने, “बजारबाट हामीलाई पनि विभिन्न माध्यमबाट दिनहुँ महङ्गी, कालोबजारी र कृत्रिम अभावसम्बन्धी जानकारी प्राप्त भइरहन्छ, ती सूचना पनि यहाँबाट विभागलाई प्राप्त होला, तर विभागले देशभरका मातहतका निकायलाई सक्रिय बनाएर अनुगमनलाई तीव्रता दिनुपर्छ” ।
साथै उनले मन्त्रालयबाट अनुगमनका लागि विभागलाई गर्नुपर्ने सहयोगमा कमी नहुने बताए । यस्तै, मन्त्री भण्डारीले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत रमेश आचार्य र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडका प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठलाई चाडपर्वलाई लक्षित गरेर सञ्चालनमा ल्याइएका सुपथ मूल्य पसललाई सर्वसुलभ बनाउन निर्देशन दिएका छन् ।
वाणिज्य मन्त्रालय मातहतका उक्त व्यापारिक संस्थालाई उपभोक्तामुखी भएर अत्यावश्यक दैनिक उपभोग्य सामानको मौज्दात बढाउन मन्त्री भण्डारीले द्वय प्रमुख कार्यकारी अधिकृतलाई निर्देशन दिए । उनले भने, “उपभोक्ताले सर्वसुलभरुपमा अत्यावश्यक दैनिक उपभोग्य वस्तु पाउनुप¥यो, सुपथ मूल्य पसल व्यवस्थित बनाउनु होला, पसल थप सञ्चालन गर्नुपर्ने भए त्यो पनि गर्नुस्, न्यूनतम मौज्दात कायम जुनसुकै हालतमा पनि हुनुपर्छ, मन्त्रालयले के सहयोग गर्नुपर्छ जानकारी गराउनूस् ।”
साथै मन्त्री भण्डारीले नेपाल आयल निगमका चण्डीकाप्रसाद भट्टलाई एलपी ग्यासको आवश्यक मौज्दात बढाउन निर्देशन दिए । यसैबीच, होटल सङ्घ नेपालले निराधार रुपमा आफूखुसी कुनै सम्झौता नै नगरेको विषयमा प्रचारबाजी गरेकामा मन्त्री भण्डारीको सचिवालयले आपत्ति जनाएको छ ।