एजेन्सी, १४ असोज । हमासका एक नेता लेबनानमा मारिएका छन् ।
इजरायलले हवाई आक्रमण गरी हमासका नेतालाई मारेको जनाएको छ । समाचार संस्था रोयटर्सका अनुसार हमासले लेबनानमा आफ्ना नेता मारिएको पुष्टि गरेको छ ।
लेबनानमा रहेका हमासका नेता फतेह शेरिफ अबु अल अमिनलाई इजरायलले हवाई आक्रमणमार्फत मारेको हो । इजरायली आक्रमणमा हमासका नेता अमिनसँगै उनकी श्रीमती, छोरा र छोरी पनि मारिएका छन् । उनी दक्षिणी लेबनानको शरणार्थी क्याम्पमा थिए ।
एक महिनाअगाडि इजरायलले हमासमा अर्का मुख्य नेता इस्माइल हनियाको पनि हत्या गरेको थियो । पछिल्लो दुई हप्तादेखि इजरायलले लेबनानमा निरन्तर हमला गरिरहेको छ । इजरायलले यस अगाडि लेबनानको अर्ध सैनिक समूह हिजबुल्लाहका मानिसहरूलाई पेजर र वाकिटकी विस्फोट गराएर मारेको थियो ।