काठमाडौँ, १४ असोज । भारत सरकारले बलिउड अभिनेता मिथुन चक्रवर्तीलाई यसवर्षको दादासाहेब फाल्के अवार्ड प्रदान गर्ने भएको छ ।
केन्द्रीय मन्त्री अश्विनी वैष्णवले सोमबार यसको औपचारिक घोषणा गरे । असोज २२ गते आयोजना हुने ७०औँ राष्ट्रिय चलचित्र पुरस्कार समारोहमा सम्मान गरिने भएको छ ।
मिथुनले सन् १९७६ मा ‘मृगया’बाट फिल्मी करिअर थालेका थिए । पहिलो फिल्मबाटै उनले राष्ट्रिय पुरस्कार जितेका थिए । उनले सन् १९८२ को फिल्म ‘डिस्को डान्सर’बाट प्रसिद्धी प्राप्त गरे ।
चक्रवर्तीलाई पुरस्कार प्रदान गर्नेबारे जानकारी दिँदै केन्द्रीय मन्त्री वैष्णवले सामाजिक संजाल एक्समा लेखे, ‘मिथुन दाको उल्लेखनीय चलचित्र यात्राले धेरै पुस्तालाई प्रेरित गर्छ । दादासाहेब फाल्के छनोट निर्णायक मण्डलले भारतीय सिनेमामा उनको प्रतिष्ठित योगदानको लागि यसवर्ष प्रसिद्ध अभिनेता मिथुन चक्रवर्तीलाई यो पुरस्कार दिने निर्णय गरेको घोषणा गर्न पाउँदा हामी गर्व गर्दछौं ।’