बंगलादेशको अन्तरिम सरकार पनि नेपालबाट बिजुली लैजान सकारात्मक

काठमाडौँ, २५ भदौ । बंगलादेशको अन्तरिम सरकारले समेत नेपालबाट ४० मेगावाट बिजुली लैजान चासो देखाएको छ । बंगलादेशका तत्कालीन प्रधानमन्त्री शेख हसिनाको पालामै नेपाल, भारत र बंगलादेशबीच ४० मेगावाट बिजुली खरिदबिक्री गर्न गत साउन १३ मा सम्झौता मिति तय गरिएको थियो । तर बंगलादेशमा विकसित राजनीतिक घटनाक्रमले गर्दा सम्झौता स्थगित गर्न भन्दै बंगलादेशले गत साउन पहिलो साता पत्र पठाएर अनुरोध गरेको थियो । 

बंगलादेशमा सरकारी सेवामा विशेष आरक्षणको विरोधमा प्रदर्शन चर्किएपछि साउन २२ मा राजीनामा दिँदै शेख हसिनाले देश छाडेकी थिइन् । हसिनाकै अगुवाइमा भारतको बाटो हुँदै नेपालको बिजुली बंगलादेश लैजाने गरी ४० मेगावाट बिजुली खरिद प्रक्रिया अघि बढेको थियो । तर हसिनाले देश छाडेपछि ४० मेगावाट बिजुली खरिदबिक्री सम्झौता अब के हुन्छ भन्ने थियो ।

अहिले बंगलादेशका अन्तरिम सरकारका प्रमुख मोहम्मद युनुसले नेपालबाट बिजुली आयात गर्ने विषयलाई समर्थन गरेको देखिएको छ । यसअघि नै सबै कागजपत्र पूरा भइसके पनि तीन देशबीच सम्झौता गर्न मात्र बाँकी थियो । अहिले सेप्टेम्बरमै ४० मेगावाट बिजुली खरिदबिक्री सम्झौता गर्न अनौपचारिक छलफल भइरहेको ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको छ । औपचारिक रूपमा कुनै पत्र नआए पनि ४० मेगावाट बिजुली खरिदबिक्री सम्झौताका

लागि मिति तय गर्न विभिन्न माध्यममार्फत कुराकानी भइरहेको मन्त्रालयका प्रवक्ता चिरञ्जीवी चटौतले प्रस्ट्याए । ‘गत साउन १३ मै तीन देशका निकायबीच सम्झौता गर्ने गरी मिति तय भइसकेको थियो । तर बंगलादेशमा विकसित राजनीतिक घटनाक्रमले गर्दा रोकियो,’ चटौतले भने, ‘बंगलादेशको नयाँ सरकारले पनि यसबारे बुझ्नुपर्ने होला । अहिले भारत, बंगलादेश र नेपाल गरी तीन देशलाई उपयुक्त हुने समयमा सम्झौताका लागि पहल गरिरहेका छौं ।’ तीनै वटा देशलाई उपयुक्त हुने गरी मिति तय गर्न छलफल गरिरहेको उनले जनाए ।

‘विद्युत् खरिदबिक्री सम्झौताका लागि मिति तय गर्न छलफल गरिरहेका छौं,’ चटौतले भने, ‘कुनै एउटा मितिमा तीन वटै देशका लागि उपयुक्त हुने भएपछि मिति तय गर्छौं ।’ सेप्टेम्बरमै सम्झौता गरी यस वर्ष दुई महिना भए पनि बंगलादेशलाई बिजुली बेच्ने गरी सम्झौताका लागि पहल गरिरहेको उनको भनाइ छ । ‘सम्झौता मितिका लागि फोन, सामाजिक सञ्जालदेखि बंगलादेशका लागि नेपाली राजदूतसम्मबाट मौखिक छलफल भइरहेको छ,’ उनले भने ।

यसअघि नेपालका ऊर्जामन्त्री दीपक खड्का, भारतका विद्युत्मन्त्री मनोहर लाल र बंगलादेशका ऊर्जा तथा खनिज संसाधन राज्यमन्त्री नसरुल हमिदको उपस्थितिमा बिजुली खरिदबिक्रीको सम्झौता हुने जनाइएको थियो । तीन देशका मन्त्रीहरूको उपस्थितिमा नेपाल विद्युत् प्राधिकरण, भारतको एनटीपीसी विद्युत् व्यापार निगम (एनभीभीएन) र बंगलादेशको पावर डेभलपमेन्ट बोर्ड (बीपीडीबी) बीच त्रिपक्षीय सम्झौता हुनेछ । प्राधिकरणले वर्षायामको ५ महिना अर्थात् हरेक वर्षको १५ जुनदेखि १५ नोभेम्बरसम्म बंगलादेशलाई बिजुली बिक्री गर्ने समझदारी छ ।

हरेक वर्ष ५ महिनामा कुल १ लाख ४४ हजार मेगावाट आवर बिजुली निर्यात हुनेछ । प्राधिकरणले बंगलादेशमा विद्युत् बिक्री गरी प्रतियुनिट ६.४० अमेरिकी सेन्ट (करिब ८ रुपैयाँ ५५ पैसा, बुधबारको विनिमय दरअनुसार) पाउनेछ । ५ महिनामा ९२ लाख १६ हजार अमेरिकी डलर (१ अर्ब २३ करोड, बुधबारको विनिमय दरअनुसार) आम्दानी हुने प्राधिकरणले जनाएको छ ।

नेपाल र भारतबीचको पहिलो अन्तरदेशीय ढल्केबर–मुजफ्फरपुर ४०० केभी प्रसारण लाइन हुँदै बंगलादेश निर्यात हुने विद्युत्को मूल्य प्राधिकरणले भारतरको मुजफ्फरपुर बिन्दुमा पाउनेछ । अर्थात् बंगलादेश निर्यात हुने विद्युत्को मिटर मुजफ्फरपुरमा रहनेछ । ढल्केबरबाट मुजफ्फरपुरसम्मको प्रसारण लाइनको प्राविधिक चुहावट प्राधिकरणले नै बेहोर्नेछ । मुजफ्फरपुरबाट भारतको प्रसारण लाइनमार्फत बेहरामपुर (भारत)–भेडामारा (बंगलादेश) ४०० केभी प्रसारण लाइन हुँदै बंगलादेश विद्युत् पुग्नेछ ।

प्राधिकरणले भारतीय अनुदानमा निर्माण भई आफ्नो स्वामित्वमा रहेको २५ मेगावाटको त्रिशूली र सहायक कम्पनीमार्फत निर्माण गरिएको २२ मेगावाटको चिलिमे जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् बंगलादेश निर्यात गर्ने तयारी गरेको छ । यी दुवै आयोजनाले भारतमा विद्युत् निर्यातका लागि स्वीकृति पाइसकेका छन् ।

बीपीडीबीले १६ पुस ०८० मा नेपालबाट उत्पादित ४० मेगावाट विद्युत् बंगलादेश, भारत र नेपालका निकायबीचको त्रिपक्षीय सम्झौताअनुसार हुने गरी पाँच वर्षसम्म खरिदका लागि बोलपत्र (टेन्डर) आह्वान गरेको थियो । प्राधिकरणले गत माघ दोस्रो साता विद्युत् बिक्रीका लागि तोकिएको ढाँचामा बिक्री गरिने विद्युत्को दरसहितको बोलपत्रसम्बन्धी कागजात पेस गरेको थियो । त्यसपछि प्राधिकरणको टोली र बीपीडीबीअन्तर्गतको बोलपत्र (बिड) मूल्यांकन समितिबीच गत फागुन १० मा ढाकामा वार्ता भएको थियो ।

नेपालले प्रतियुनिट बिजुलीको मूल्य ६.७० अमेरिकी सेन्ट प्रस्ताव गरेको थियो । नेपालले भारतलाई बेचेको भन्दा कम मूल्यमा नदिने अडान राखेपछि बैठकमा मूल्यको सहमति जुटेन । तर पछि सिंगापुरमा विश्व बैंकले आयोजित सार्कका ऊर्जा सचिवस्तरीय बैठकका क्रममा भएको द्विपक्षीय छलफलमा बंगलादेश नेपालले प्रस्ताव गरेको मूल्यमा केही घटेर ६.४० अमेरिकी सेन्टमा बिजुली खरिद गर्न सहमत भएको थियो । मूल्यमा सहमति भए पनि गत जेठ २९ मा

मात्रै बंगलादेशको मन्त्रिपरिषद्को सार्वजनिक खरिदसम्बन्धी समिति (सीसीजीपी) ले नेपालबाट आयात गरिने विद्युत्को मूल्य स्वीकृत गरेको थियो ।पेस गरिएका बोलपत्रसम्बन्धी कागजात मूल्यांकन गरी त्यसलाई सम्बन्धित निकायबाट स्वीकृत भएको जानकारी दिँदै बीपीडीबीले बोलपत्र स्वीकार गर्ने आशयको सूचना असार २३ मा प्राधिकरणलाई दिएको थियो । प्राधिकरणले पनि बोलपत्र स्वीकार गरेको लिखित सूचना बीपीडीबीलाई दिएको थियो । लगत्तै बीपीडीबीले विद्युत् बिक्री सम्झौताको मस्यौदा प्राधिकरणलाई पठाएको थियो । प्राधिकरणले मस्यौदा पाएसँगै सम्झौता मिति तय गरेर बीपीडीबीलाई निमन्त्रणासहित गत असार २६ पत्र पठाएको थियो ।

बंगलादेशको मन्त्रिपरिषद्को आर्थिक मामिलासम्बन्धी समितिले गत मंसिर २० मा नेपालबाट ४० मेगावाट बिजुली आयात गर्ने प्रस्तावलाई सैद्धान्तिक स्वीकृत गरेको थियो । सोहीअनुसार मूल्यलाई प्राथमिकतामा राखेर बिक्रीका लागि प्रस्ताव पठाउन बंगलादेशले नेपाललाई पत्र पठाएको थियो । प्राधिकरणले माघको दोस्रो साता बिक्री प्रस्ताव पठाएको थियो । कान्तिपुर

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २८ असोज । बारामा हात्तीको आक्रमणमा परी एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय बाराका अनुसार कोल्हवी

काठमाडौँ, २८ असोज । मनकामना केबलकार तीन दिन बन्द गरिने भएको छ । मर्मत–सम्भारका निम्ति यही असोज २९ देखि आउँदो

ताप्लेजुङ, २८ असोज । सडक अवरुद्धका कारणले सुनसान जस्तै भएको पाथीभरा पछिल्लो समयमा तीर्थयात्रीको सङ्ख्य बढ्दै गएको छ । सडक

कञ्चनपुर, २८ असोज । शुक्लाफाँटा नगरपालिका ८ पारिफाँटा स्थित बैजनाथ आधारभूत विद्यालयका विद्यार्थी नियमित विद्यालय आउने गरेका छन् भने बिचमै विद्यालय