काठमाडौँ, ५ भदौ । दक्षिण एसियाली टापु मुलुक माल्दिभ्समा नेपाली फिल्मको नियमित प्रदर्शन हुने भएको छ । नेप-फिल्म्सले पहिलोपटक प्रतीक्षित नेपाली फिल्म ‘छक्कापञ्जा ५’ लाई त्यहाँ रिलिज गर्न लागेको हो ।
कात्तिक १ गते (अक्टोबर १७)मा दीपकराज गिरी र वर्षा सिवाकोटी स्टारर फिल्म प्रदर्शन हुन लागेको वितरक रमेश ढकालले जानकारी दिए । माल्दिभ्समा अबदेखि नियमित नेपाली फिल्म रिलिज गर्ने उनको तयारी छ ।
माल्दिभ्सका दुईवटा हलमा फिल्म रिलिजबारे नेप-फिल्म्स र स्थानीय स्वाक सिनेमाबीच सहमति जुटेको छ । जसअनुसार माल्दिभ्सको राजधानी माले र हलह्युमेल टापु सहरस्थित हलमा पनि फिल्म रिलिज हुन लागेको ढकालले जानकारी दिए ।