काठमाडौँ, ३० साउन । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले महाधिवेशनको मिति परिवर्तन गरेको छ ।
पार्टी विभाजनपछि साउन २६ देखि २९ गतेसम्म कृष्ण सेन इच्छुक प्रतिष्ठानमा बसेको आयोजक समितिको आकस्मिक बैठकले महाधिवेशनको मिति परिवर्तन गरेको हो ।
यसअघि कात्तिकको पहिलो साता गर्ने भनिएको महाधिवेशन नेकपा बहुमत समूह अलग भएपछि मङ्सिर १३ देखि २३ सम्म महाधिवेशनको अर्को मिति तय भएको नेता हुकुमबहादुर सिंहले जानकारी दिए । पार्टी नेतृत्व समाजवादी कार्यदिशामा जान नचाहेको आरोप लगाउँदै सहसंयोजक समेत रहेका धर्मेन्द्र बास्तोला समूहले साउन १ गते पार्टी विभाजन गरेका थिए ।
बैठकले आगामी महाधिवेशनबाट राजनीतिक कार्यदिशा, सामरिक कार्यदिशामा थप विकास गर्दै क्रान्तिको कार्यभार पूरा गर्न नयाँ ढङ्गले पार्टीलाई सुदृढ, एकताबद्ध र जुझारु रूपमा अगाडि बढाउने पनि सङ्कल्प प्रस्ताव पारित गरेको छ । प्रवक्ताको जिम्मेवारी हेमन्तप्रकाश ओलीलाई दिइएको छ । तर २४ सदस्य कार्यालय यथावत् राखिएको सिंहले जानकारी दिए ।