काठमाडौँ, १७ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले तत्काल सरकारमा जाने कुनै तयारी नरहेको बताएका छन् ।
आज काठमाडौँमा पार्टीको जिल्ला अध्यक्षहरूको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले सरकारमा जाने भन्ने कुरा परिस्थितिले निर्माण गर्ने भन्दै तत्काल सरकारमा जाने कुनै तयारी नरहेको बताए । सरकारमा जाने विषय व्यक्तिगत चाहनाले मात्रै निर्णय हुन नसक्ने उनको भनाइ थियो ।
संसद्को गणित र राष्ट्रिय राजनीतिमा सरकारमा रहँदा वा नरहँदा के फरक रहन्छ भन्ने विश्लेषण पार्टीले गर्ने लिङ्देनले उल्लेख गरे । यसअघि केही समय सरकारमा रहँदा केही महत्त्वपूर्ण काम गर्न सफल भएको दाबी गरे ।
त्यस्तै, अध्यक्ष लिङ्देनले पार्टीले उठाएका एजेन्डालाई प्रभावित हुने कुनै पनि काम नेतृत्वबाट नहुने भन्दै यसअघि भएका गल्ती कमजोरीलाई सुधार गरेर अघि बढ्ने स्पष्ट पारे । संविधानको आधारभूत कुराहरूमा नै पार्टीको फरक मत रहेकाले संविधान संशोधनको पक्षमा आफूहरू रहेको जिकिर गरे ।