काठमाडौँ, ५ साउन । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले भ्रष्टाचारीलाई जहाँ देख्यो त्यही जनकारबाही गर्न निर्देशन दिएका छन् । मुलुकमा दिनदिनै भ्रष्टाचार संस्थागत हुँदै गएकोले मुलुक समृद्ध हुन नसकेको उनले बताए ।
आज पार्टी निकटको आइटी आर्मीको तेस्रो स्थापना दिवसको अवसरमा आज काठमाडौँमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष साहले यस्तो निर्देशन दिएका हुन् । सरकारको मुख्य नेतृत्व नै भ्रष्टाचारमा लागेकोले कुनै पनि सरकारी निकायबाट भ्रष्टाचारीलाई कारबाहीको अपेक्षा गर्नु भनेको “गोरुबाट दूध पाउने कल्पना गरे जस्तै हो” भएको टिप्पणी उनको छ ।
उनले भने, ‘देशमा भ्रष्टाचार बढ्दै गएका कारण मुलुकमा विकास रोकिएको यथार्थ हामी सामु छ । नेपालको सम्पत्ति लुटेर दिन दहाडै विदेश लगिँदैछ । भ्रष्टाचारको काण्डै काण्डले देश बरबाद हुँदैछ । सरकारी निकायले भ्रष्टाचारीको अगाडी निरीह छ, केही गर्न सकिरहेको छैन । भ्रष्टाचारीलाई राज्यकै संरक्षण छ’ ‘यस्तो अवस्थामा हामी चुप लागेर बस्न मिल्दैन । हामीले मुलुकलाई समृद्ध बनाउन, सुशासन कायम गर्नका लागि भ्रष्टाचारीलाई जहाँ देख्यो त्यही जनकारबाही गर्न आवश्यक छ । आइटी आर्मीले त्यो कामको नेतृत्व गरोस् ।’