काठमाडौँ, ३१ असार । नवनियुक्त उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पदभार ग्रहण गरे लगत्तै केही महत्त्वपूर्ण निर्णय गरेका छन् ।
सोमबार सिंहदरबारमा पदभार ग्रहण गर्दै अर्थमन्त्री पौडेलले विकास वित्तको कमी पुरा गर्न र पूर्वाधारमा लगानी अभिवृद्धि गर्न नवीन उपकरण तथा विधिहरूको प्रयोग गर्ने सम्बन्धी मार्गचित्र स्वीकृत गरेका हुन् । सम्मिश्रित वित्त, हाइब्रिड एन्यूटी जस्ता सार्वजनिक निजी साझेदारीका नवीन विधिको माध्यमबाट निजी पुँजी परिचालन गरी विकास सहायताको लिभरेज दर बढाउन सम्भाव्य आयोजनाको पाइपलाइन विकास गर्नु आवश्यक छ । यसका लागि आवश्यक नीतिगत र प्रक्रियागत प्रबन्ध मिलाउनुको साथै स्पष्ट मार्ग चित्र निर्माण गरी सो अनुरूप कार्ययोजना तर्जुमा गर्ने निर्णय गरिएको छ ।
हाल तर्जुमा प्रक्रियामा रहेको एकीकृत राष्ट्रिय वित्त खाका समेतको आधारमा नेपालमा सम्भाव्य र उपयुक्त देखिएका विधिको उपयोग गरी विकास वित्तको आवश्यकता पुरा गर्न आर्थिक वर्ष २०८१/८२ भित्र देहाय बमोजिमको कार्य सम्पन्न गर्ने गरी मार्ग चित्र स्वीकृत भएको छ ।
स्वीकृत मार्ग चित्र अनुसार देहायका क्रियाकलाप समावेश छन् :
- सम्भाव्य र उपयुक्त वित्त उपकरण तथा उपयोग विधिको निर्धारण गर्ने,
- सम्भाव्य आयोजना सूची निर्माण तथा सम्भाव्यता निर्धारण,
- सम्मिश्रण वित्त, हाइब्रिड एन्यूटी जस्ता सार्वजनिक निजी साझेदारीका नवीन विधिको उपयोगको तयारी तथा प्रक्रिया निर्धारण गर्ने,
- विकास वित्त परिचालनको अनुमान गरी बजेटमा समावेश गर्ने,
- अन्तर निकाय कार्यदल तथा सल्लाहकारी संयन्त्र निर्माण गर्ने,
- सम्बद्ध निकायको क्षमता विकास गर्ने,
- कानुनी र प्रक्रियागत व्यवस्था गर्न नेपाल सरकार म.प. मा प्रस्ताव पेस गर्ने,
- सम्भाव्यताको आधारमा नवीन विधि र उपकरणको उपयोग गर्ने ।