काठमाडौँ, ३१ असार । साउन २५ गतेदेखि फिल्म ‘नम्बरी सुन’ प्रदर्शनमा आउने भएको छ ।
निर्माण युनिटले फिल्म हेर्ने १२ जनालाई सुन उपहार दिने भएको छ । सोमबार ललितपुरको झम्सिखेलमा आयोजित पत्रकार सम्मेलनमा फिल्मका प्रस्तुतकर्ता नारायण खातीले फिल्मको तर्फबाट १२ जना दर्शकलाई सुन उपहार प्रदान गर्ने योजना ल्याइएको बताए ।
‘हामीले फिल्मको’ खल्ती एपबाट टिकट काट्ने ५ जना र त्यसभन्दा बाहिरी ७ जना दर्शकलाई सुनको मोतीवाला चन्द्रहार प्रदान गर्नेछौं’, निर्माता खातीले भने ‘वितरकसँगको सल्लाहमा यो योजना ल्याएका हौँ ।’ उनले उपहार लक्की– ड्र मार्फत प्रदान गरिने जानकारी दिए ।
निर्माता खाती सुन व्यवसायी पनि हुन् । पहिलो पटक फिल्म निर्माण गरेका खातीले फिल्मको कथा आफ्नो पेसासँग सम्बन्धित रहेकोले निर्माता बनेको बताए । कार्यक्रममा निर्देशक राजु गिरीले ६०, ७० वर्ष अगाडिको घर घरमा गएर सुनको गहना बनाउने कथा फिल्मले उठाएको बताए ।






