प्रचण्ड अब इतिहासको प्रधानमन्त्रीमा सिमित बनेः महेश बस्नेत

भक्तपुर, ३१ असार । नेकपा एमालेको पोलिटव्युरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अब कहिलै पनि प्रधानमन्त्री हुन नसक्ने दावी गर्नुभएको छ ।

नेपाल प्रेस सोसाईटीले भक्तपुरमा आइतवार आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै नेता बस्नेतले प्रचण्डको दोधारे नीतिका कारण मुलुक ठूलो संकटमा फसेका कारण एमाले कांग्रेस मिलेर सरकार बनाउनु परेको उल्लेख गर्नुभयो । आफ्नो व्यक्तिगत स्वार्थपूर्तिको लागि प्रचण्डले विगत लामो समयदेखी कहिले एमाले त कहिले कांग्रेसको ढाडमा टेकी टाउकोमा हान्ने प्रयत्न गरेको उल्लेख गर्दै उहाँले मुलुकको विकास र समृद्धिको लागि विशेष परिस्थितीमा एमाले कांग्रेस एक भएको स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो, ‘प्रचण्डले कांग्रेस र एमालेलाई खेलाउँदै मसँगै म्याजिक नम्बर छ भन्दै मुलुकलाई अन्योलताको खाडलमा लगे । मुलुकलाई गोलचक्रभित्र फसाई राखे । गोलचक्रबाट निकाल्ने काम एमाले कांग्रेसले गरेका छन् । अब जनताले प्रचण्डको राजनीतिक दुई नम्बरी धन्दा सकियो । एक केजीको घनले ढुंगालाई हान्यो भने त्यसलाई फुटाउन १०० पटक भन्दा बढी लाग्छ तर पनि फुटदैन । तर १०० केजीको घनले हान्यो भने एकै पटक फुट्छ । त्यसैको लागि साना साना च्याँखे दाउ थापेर राजनीतिक दोकान गर्ने दलबाट मुलुकको संकट समाधान हुन सक्दैन भनेर एमाले र कांग्रेसको गठबन्धन बनेको हो ।’

जनताले तिरस्कार गरेको व्यवस्थाबाट मुलुकमा समृद्धि हासिल गर्न नसकिने उल्लेख गर्दै उहाँले आवश्यकता अनुसार संविधानको संशोधन गर्नुपर्ने धारणा राख्नुभयो । ‘थ्रेसहोल्ड कम्तिमा पाँच प्रतिशत, राष्ट्रिय दल हुन कम्तिमा ८० प्रतिशत निर्वाचन क्षेत्रमा उम्मेदवार उठाउनै पर्ने, प्रदेश तहलाई आधुनिक अवस्थालाई रुपान्तरित गर्नुपर्छ’, उहाँले भन्नुभयो, ‘समानुपातिक व्यवस्था, निर्वाचन प्रणाली, स्थानीय तहको संरचनालगायतका विषयहरुलाई समय सापेक्ष रुपमा संविधान संशोधन गर्नुपर्ने आवश्यकता रहेको छ । प्रत्यक्ष निर्वाचनको माध्यमबाट नै समानुपातिक व्यवस्थालाई समेटेर लैजान सकिन्छ ।’

राष्ट्रिय स्वतन्त्र पार्टीका सभाापति रवि लामिछानेले भ्रष्टाचारको फाईल खोल्न खोज्दा सरकार ढालेको भन्ने मिथ्या आरोप लगाएको उल्लेख गर्दै उहाँले भन्नुभयो, ‘टोपबहादुर, बालकृष्णलगायतका नेताहरु पक्राउ पर्दा गठबन्धन केही नहुने तर बेचन झा पक्राउ पर्दा सरकार ढल्यो भन्नु कुतर्क तथा लाजको घुम्टो ओढे जस्तो मात्र हो । आफुलाई लागेका आरोपहरु लुकाउने र आफुविरुद्ध बोल्नेलाई सिध्याउने खेल खेलेका छन् । अरुको नागरिकताको मुद्धा उठान गर्ने रविले आफ्नो नागरिकताको मुद्धा तथा सहकारी ठगीको मुद्धा महान्यायाधिवक्ताको माध्यमबाट नचलाउने निर्णय गराएका छन् ।’

पछिल्लो समय बाढी पहिरोका कारण काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहलाई जनताले गाली गर्न थालेको उल्लेख गर्दै नेता बस्नेतले महानगरपालिकामा एमालेको पालमा भन्दा थप विकास हुन नसकेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘विगतमा काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहलाई वाह, वाह गर्नेहरु अहिले हाम्रो वाह, वाह गर्दै बालेनको विरोध गरिरहेका छन् । केहि दिन अघि आएको बाढी पहिरोका कारण हामीलाई जनताले वाह, वाह गरे बालेनलाई चाहि गाली गरे । काठमाडौँ महानगरका जनताहरु बाढी पहिरोका कारण समस्यामा परिरहँदा जनताको पक्षमा एउटा स्ट्याटस समेत आएन । बाढी पहिरोपीडितलाई राहत दिनसमेत सकेनन् । त्यसैले अहिले काठमाडौँका जनताले एमालेलाई झल्झली सम्झिरहेका छन् । फेसबुक चलाएजस्तो हैन, स्थानीय सरकार चलाउने कुरा । काठमाडौँमा एमालेले गरेको विकासलाई बालेन सिटी भनेर हल्ला गरेजस्तो सजिलो छैन । बालेन त ‘काम गर्ने कालु, मकै खाने भालु’ भने जस्तोमात्र हो ।’

आफ्नो कार्यकालमा भक्तपुरलाई ऐतिहासिक विकासको युगको रुपमा विकास गराएको उल्लेख गर्दै नेता बस्नेतले भक्तपुरलाई सिंहदरबारसँग जोडेर विकास र समृद्धिको ऐतिहासिक कामहरु गरेको बताउनुभयो । काठमाडौँका जनप्रतिनिधिहरु भक्तपुर घुम्न आउँदा काठमाडौँभन्दा व्यवस्थित विकासका कामहरु भएको भन्ने गरेको स्मरण गर्नुभयो । भक्तपुरमा खानेपानीमा आत्मनिर्भर भएको उल्लेख गर्दै उहाँले सामुदायीक विद्यालय, स्वास्थ्य क्षेत्र, रोजगारीको हबको रुपमा विकास भएको दावी गर्नुभयो । उहाँले भन्नुभयो, ‘विगतमा भक्तपुरका साहुजीहरुले सूर्यविनायक, चाँगुनारायण नगरपालिकालाई हेप्ने गर्दथे तर अहिले भक्तपुरका ति साहुहरु सूर्यविनायक–चाँगुनारायण आएर हामी साहुजी हैन, यहाँका बासिन्दा चाँही साहुजीहरु हुनुहुन्छ भन्ने अवस्था बनाएका छौं । भक्तपुर नगरपालिकाका मान्छेले सूर्यविनायक र चाँगुनारायण नगरपालिका तर्फ फर्केर थुक निल्ने अवस्थामा पुर्याएका छौं ।’

एमालेले पराजय व्यहोरेसँगै भक्तपुरमा अरवौंको बजेट कटौती भएको उल्लेख गर्दै उहाँले हनुमन्ते करिडोर निर्माण लगायतका विकासको अभियान्तालाई विभिन्न आरोप लगाउनेलाई हिसाव किताव गर्न जरुरी रहेको बताउनुभयो । आफु नेतृत्वको एमालेले भक्तपुरको पहुँचलाई अधिकतम उपयोग गरी जनताको विकास प्रतिको सपना पुरा गरेको दावी गर्नुभयो । भक्तपुरलाई राष्ट्रिय राजनीतिको मुल प्रवाहमा ल्याउन मैले महत्वपूर्ण कार्य गरेको बताउँदै उहाँले आफ्नो पालामा भक्तपुरमा संघीय सरकारको वार्षिक रुपमा अरवौं रकम ल्याउन सफल भएको स्मरण गर्नुभयो ।

सोसाइटीका अध्यक्ष उपेन्द्र केसीको अध्यक्षतामा भएको कार्यक्रममा उहाँले भन्नुभयो, ‘अहिलेका जनप्रतिनिधिले नगरपालिकाले विनियोजन गर्ने बजेट जती पनि ल्याउन सकेनन् । उनीहरुले चार पाँच लाखका पाँच छ वटा योजना पार्न सफल भएका छन् । हामीले कस्तो जनप्रतिनिधिलाई निर्वाचित गरेर पठाएछौं भन्ने जनताले महशुस गर्न थाल्नुभएको छ । तर हामीले हारे पनि हार खाएका छैनौं । जनताको सपनालाई विपनामा रुपान्तरण गर्छौ ।’ अर्थतन्त्रलाई नयाँ उचाइमा लैजाने उल्लेख गर्दै उहाँले नयाँ सरकार बनेसँगै व्यापार व्यवसायीमा उर्जा आएको दावी गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २९ पौष । मन्त्रिपरिषद्को बैठकका निर्णय सार्वजनिक भएको छ । पौष २६ गते बसेको मन्त्रिपरिषद्को बैठकले निर्णय सरकारका प्रवक्ता

काठमाडौँ, २९ पौष । राष्ट्रपति रामचन्द्र पौडेलले आज नवनिर्मित संसद् भवनको निरीक्षण गरेका छन् । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे

काठमाडौँ, २९ पौष । आज दिउँसो २ बजे बस्ने भनिएको नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक स्थगित भएको छ । केन्द्रीय

काठमाडौँ, २९ पौष । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आकस्मिक तथा भर्ना भएका बिरामी रेफर गर्दा पहिलो स्वास्थ्य संस्थालाई जिम्मेवार बनाउने