सिंहदरबारमा केपी ओलीको पुनरागमन: यस्तो छ उनको इतिहास

काठमाडौँ, ३१ असार । प्रतिनिधिसभाको ठूलो दल कांग्रेसको समर्थन पाएका एमाले अध्यक्ष केपी शर्मा ओली चौथोपल्ट प्रधानमन्त्री नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६ को उपधारा २ अनुसार ओलीलाई आइतबार साँझ प्रधानमन्त्री नियुक्त गरेका हुन् । ओलीले सोमबार ११ बजे शपथ लिँदै छन् भने उनीसँगै मन्त्रिपरिषद्का अन्य सदस्यलाई पनि शपथ खुवाउने तयारी छ ।

‘सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले नेपालको संविधानको धारा ७६ को उपधारा २ बमोजिम प्रतिनिधिसभाका माननीय सदस्य श्री केपी शर्मा ओलीज्यूलाई नेपालको प्रधानमन्त्री पदमा नियुक्त गर्नुभएको छ,’ राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ । कांग्रेस र एमालेबीच सरकार सञ्चालनका लागि गठबन्धन गर्ने सहमति असार १७ मा भएसँगै ओलीको चौथो कार्यकालका लागि प्रधानमन्त्री बन्ने आधार तयार भएको थियो । त्यसपछि पुष्पकमल दाहाल नेतृत्वको सरकारबाट एमाले बाहिरिएको थियो । दाहालले असार २८ मा प्रतिनिधिसभाबाट विश्वासको मत नपाएसँगै कांग्रेस सभापति शेरबहादुर देउवाको समर्थन लिएर ओलीले राष्ट्रपतिसमक्ष प्रधानमन्त्री नियुक्तिका लागि दाबी प्रस्तुत गरेका थिए ।

कांग्रेस–एमाले गठबन्धनलाई संसद्का अन्य केही दलले पनि साथ दिने भएपछि ओलीले दुईतिहाइ बढी सांसदको समर्थन पाउने भएका छन् । ओलीलाई कांग्रेसका ८८, एमालेका ७८, अशोक राई नेतृत्वको जसपाको ७, जनमतको ६, उपेन्द्र यादव नेतृत्वको जसपाको ५ र लोसपाका ४ सांसदको समर्थन रहने देखिएको छ । कांग्रेस र एमालेले संविधान संशोधन, राजनीतिक स्थायित्व, आर्थिक समृद्धि र विकासका मार्गमा मुलुकलाई अगाडि बढाउन संसद्का दुई ठूला पार्टी मिल्नुपर्ने तर्कसहित सरकार सञ्चालन गर्न गठबन्धन गरेका हुन् । पहिलो २ वर्षको कार्यकालमा ओलीले नेतृत्व गर्ने र बाँकी साढे १ वर्ष देउवा प्रधानमन्त्री बन्ने सहमति भएको छ । सहमतिपत्र भने सार्वजनिक गरिएको छैन ।

ओली २०७२ असोज २४ मा पहिलो पटक प्रधानमन्त्री भएका थिए । उनको पहिलो कार्यकाल ९ महिनाको थियो । २०७३ साउन ९ मा राजीनामा दिएसँगै उनको कार्यकाल सकिएको थियो । तर, उनले अर्को सरकार गठन नहुँदा (साउन १९) सम्म प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेका थिए । प्रतिनिधिसभा निर्वाचन २०७४ मा एमाले र माओवादीले चुनावी गठबन्धन गरेका थिए । उक्त निर्वाचनबाट कम्युनिस्ट गठबन्धनले प्रतिनिधिसभामा झन्डै दुईतिहाइ सिट प्राप्त गर्‍यो र पार्टी एकताको घोषणा गर्‍यो । सोही जनमतका बलमा ओली संविधानको धारा ७६ (१) बमोजिम प्रतिनिधिसभामा बहुमत प्राप्त दलको संसदीय दलको नेताको हैसियतमा २०७४ फागुन ३ मा दोस्रो पटक प्रधानमन्त्री नियुक्त भएका थिए ।

सरकार सञ्चालन गर्दै जाँदा नेकपाभित्रै कलह उत्पन्न भयो । पार्टीभित्रै आफू अल्पमतमा पर्ने अवस्था आएपछि ओलीले २०७७ पुस ५ मा प्रतिनिधिसभा विघटन गरे । उक्त विघटनको विरोधमा पुष्पकमल दाहाल र माधव नेपाल समूह ओलीविरुद्ध आन्दोलनमै उत्रिए । त्यही विवादले नेकपा विभाजन भयो । एमाले र माओवादी एकताअघिको अवस्थामा पुगे ।

त्यसपछि पनि एमालेभित्र विभाजन आयो, माधवकुमार नेपाललगायतका नेताहरू अलग्गिए । एमालेबाट बाहिरिएपछि माधवकुमार नेपाल समूहले छुट्टै पार्टी एकीकृत समाजवादी गठन गर्‍यो । २०७८ वैशाख २७ मा प्रतिनिधिसभामा विश्वासको मतको सामना गरेका ओलीको पक्षमा बहुमत सांसद नउभिएपछि उनले दोस्रो पटक प्रधानमन्त्री पद गुमाए । संसद्मा सबैभन्दा ठूलो दलका नेता ओली नै थिए । संसद्को ठूलो दलको संसदीय दलको नेताको हैसियतले ओलीलाई तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (३) बमोजिम संसद्को सबैभन्दा ठूलो दलको नेताका हैसियतमा २०७८ वैशाख ३० मा प्रधानमन्त्रीमा नियुक्त गरिन् ।

प्रधानमन्त्री नियुक्त भएको ३० दिनभित्र प्रतिनिधिसभाबाट विश्वासको मत लिनुपर्ने थियो । तर, विश्वासको मत प्राप्त गर्न नसक्ने भएपछि उनले प्रतिनिधिसभा दोस्रो पटक विघटन गरिदिए । २०७७ पुस ५ को विघटनविरुद्ध सर्वोच्च अदालतको पूर्णपाठ नआउँदै ओलीले २०७८ जेठ ८ मा दोस्रो पटक प्रतिनिधिसभा विघटन गरेका थिए ।

प्रतिनिधिसभाको दोस्रो विघटनविरुद्ध कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल, त्यतिबेला एमालेका नेता माधवकुमार नेपाललगायत मुद्दा लिएर सर्वोच्च अदालत पुगे । सर्वोच्चले २०७८ असार २८ मा ओलीद्वारा भएको संसद् विघटनलाई असंवैधानिक ठहर गर्दै देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको थियो । उक्त परमादेशले ओली तेस्रो पटक सरकारको नेतृत्वबाट बाहिरिए भने देउवा २०७८ असार २९ मा बालुवाटार प्रवेश गरे । त्यसको तीन वर्षपछि एमाले अध्यक्ष ओली प्रधानमन्त्री बनेका छन् । कांग्रेस सभापति देउवाको समर्थनमा माओवादी अध्यक्ष दाहाललाई विस्थापित गर्दै ओली प्रधानमन्त्री नियुक्त भएका हुन् ।

१५ वर्षे उमेरदेखि संगठित राजनीतिमा

ओली तेह्रथुमको आठराई इवामा २००८ फागुन ११ मा जन्मिएका हुन् । उनी १२ वर्षको हुँदा २०२० मा उनको परिवार झापामा बसाइँ सरेको थियो । १५ वर्षको उमेरमा ओली मार्क्सवादी अध्ययन दलमा संगठित भएर राजनीतिमा लागेका थिए । राजनीतिक दलमा संगठित भएको दुई वर्षपछि २०२५ मा पूर्णकालीन कम्युनिस्ट कार्यकर्ताका रूपमा राजनीतिमा सक्रिय भएका थिए ।

पार्टीमा पूर्णकालीन भएको एक वर्षपछि उनले कम्युनिस्ट पार्टीको सदस्यता प्राप्त गरेका थिए । २०२७ देखि पञ्चायत शासनविरुद्ध भूमिगत आन्दोलनमा लागेका थिए । २०३० असोजमा आन्दोलनका क्रममा पक्राउ परेका ओलीको १४ वर्ष जेलमै बित्यो, त्यसअघि पनि उनी राजनीतिक आन्दोलनका क्रममा पटकपटक पक्राउ परिसकेका थिए । २०३० मा भने उनीविरुद्ध राज्य विप्लव तथा विध्वंसात्मक कार्यमा संलग्न रहेको आरोपमा पक्राउ गरी पञ्चायती शासनले ४ वर्ष गोलघरसहित १४ वर्ष जेलमा राखेको थियो । २०४४

असार ११ मा १४ वर्ष जेल सजाय काटेर रिहा भएका थिए । सोही वर्ष पुसमा नेकपा (माले) को केन्द्रीय सदस्य मनोनयन भए भने पार्टीको लुम्बिनी अञ्चल कमिटी इन्चार्जको जिम्मेवारी उनलाई दिइयो । ओलीले २०४७ मा संस्थापक अध्यक्ष भएर प्रजातान्त्रिक राष्ट्रिय युवा संघ नेपाल गठन गरेका थिए । यो एमालेको युवा संगठन हो । २०४७ मा माले र मार्क्सवादीबीच एकीकरण भएर नेकपा (एमाले) बन्यो, ओली संस्थापक केन्द्रीय सदस्य बने ।

२०४८ को आम निर्वाचनमा ओली झापा–६ बाट प्रतिनिधिसभा सांसदमा पहिलो पटक निर्वाचित भएका थिए । २०५१ को मध्यावधि निर्वाचनमा झापा–२ बाट निर्वाचित भएर उनी मनमोहन अधिकारी नेतृत्वको सरकारमा गृहमन्त्री बनेका थिए । सोही वर्ष उनलाई पार्टी संसदीय विभाग प्रमुखको जिम्मेवारी दिइएको थियो । २०५४ मा पार्टी छैटौं महाधिवेशनबाट स्थायी समितिमा निर्वाचित भएका उनले विदेश विभाग प्रमुखको जिम्मेवारी पाए । २०५६ को आम निर्वाचनमा झापा–६ बाट निर्वाचित उनी संसद्मा प्रतिपक्षी दलको उपनेता बनेका थिए ।

२०५९ को सातौं राष्ट्रिय महाधिवेशनमा पार्टीको आन्तरिक लोकतान्त्रीकरण र बहुपदीय प्रणाली सुरु गर्ने प्रस्ताव राखेका उनी स्थायी समिति सदस्य र विदेश विभाग प्रमुखमा पुनः निर्वाचित भएका थिए । २०६२/६३ को जनआन्दोलनपछि पुनर्स्थापित संसद्बाट गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा उनी उपप्रधान तथा विदेशमन्त्री नियुक्त भएका थिए । २०६४ को पहिलो संविधानसभा निर्वाचनमा भने ओली पराजित भए । पार्टीको आठौं राष्ट्रिय महाधिवेशनमा पार्टी अध्यक्षमा लडे पनि झलनाथ खनालसँग पराजित भए ।

दोस्रो संविधानसभा निर्वाचन २०७० मा झापा ७ बाट निर्वाचित ओलीले पार्टी अध्यक्ष खनाललाई संसदीय दलको नेतामा पराजित गरी संविधानसभा तथा व्यवस्थापिका संसदीय दलको नेता निर्वाचित भए । त्यसपछिका दुई प्रतिनिधिसभा निर्वाचन २०७४ र २०७९ मा उनी झापा–५ बाट विजयी भएका थिए । २०७१ साउनमा भएको एमाले नवौं महाधिवेशनमा माधवकुमार नेपाललाई पराजित गरेर ओली पहिलो पटक अध्यक्ष निर्वाचित भएका थिए । त्यसपछि निरन्तर पार्टी अध्यक्षको जिम्मेवारीमा रहेका उनी चौथो पटक मुलुकको कार्यकारी प्रमुख बनेका छन् । कान्तिपुर

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ बैशाख । नेकपा (माओवादी केन्द्र) ले शिक्षकहरूले एक महिनादेखि विभिन्न माग राखेर गरेको आन्दोलनमा ऐक्यबद्धता जनाएको छ ।

काठमाडौँ, १५ बैशाख । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले बस्नका लागिमात्रै सरकार नबनेको बताएका छन् । आज काठमाडौँमा भएको एक

काठमाडौँ, १५ बैशाख । नेकपा (एमाले)का सांसद सूर्य थापाले शिक्षामन्त्री रघुजी पन्तलाई शिक्षा विधेयकबारे संसद्‌बाट जानकारी गराउन माग गरेका छन् ।

काठमाडौँ, १५ वैशाख । लगानी बोर्डले रणनीतिक कार्ययोजना स्वीकृत गरेको छ । बोर्ड कार्यालयको प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली नियुक्त भएपछि