काठमाडौँ, ३० असार । नेपाली कांग्रेसको शेखर कोइराला पक्षले केपी ओली नेतृत्वको सरकारमा पार्टीले सहभागिता जनाउँदा आफ्नो पक्षबाट ४ जना मन्त्री बन्नुपर्ने निष्कर्ष निकालेको छ ।
कांग्रेस र एमालेबिच मन्त्रालयको भागबन्डा हुँदा १० वटा मन्त्रालय कांग्रेसले पाउने मोटामोटी समझदारी भएको छ । जसअनुसार महामन्त्री गगन थापासहित इतर समूहको आइतबार बसेको बैठकले कम्तीमा ४ मन्त्रालय पाउनुपर्ने र सोहीअनुसार सभापति शेरबहादुर देउवासँग कुराकानी गर्ने निष्कर्ष निकालेको हो ।
कांग्रेस नेता अर्जुन नरसिंह केसीले सभापति देउवासँग कम्तीमा चार मन्त्री माग गर्ने निर्णय भएको जानकारी दिए । बैठकमा शेखर–गगनका साथसाथै उपसभापति धनराज गुरुङ, जीवन परियार, बद्री पाण्डे, अर्जुननरसिंह केसी, दिलेन्द्र बडूलगायतका नेताहरू सहभागी भएका थिए ।