काठमाडौँ, २५ असार । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद एनपी साउदले गृह जिल्ला कञ्चनपुरमा बाढीबाट ज्यान गुमाएकाकाे परिवारलाई क्षतिपूर्तिको व्यवस्था गर्न र विस्थापितहरूलाई तत्काल पुनर्स्थापना गर्न सरकारसँग माग गरेका छन् ।
आज बसेको प्रतिनिधिसभाको बैठकको आकस्मिक समयमा बोल्दै उनले स्थानीय प्रशासन, स्थानीय तह र सामाजिक संघ-संस्थाको भरमा मात्रै कञ्चनपुरमा बाढी पहिराेजस्ता विपद् न्यूनीकरण गर्न नसकिने बताए ।
उनले भने, “कञ्चनपुरमा बाढीले ठूलो संख्यामा जीवन र धन दुवैको क्षति भएको छ । आवश्यक राहत केन्द्र सरकारले प्रबन्ध गर्न र उद्धारका कामहरूलाई अगाडि बढाउन, दिवंगतका परिवारलाई क्षतिपूर्तिको व्यवस्था गर्न, विस्थापितहरूलाई तत्काल पुनर्स्थापनाको काममा पनि केन्द्र सरकारले ध्यानदिन आवश्यक छ,” “स्थानीय प्रशासन, स्थानीय तह र सामाजिक संघ–संस्थाको भरमा मात्रै यत्रो ठूलो विपद्लाई छाड्न सकिन्न । यतातिर सरकारको ध्यान जाओस् ।”