काठमाडौँ, २३ असार । युवालाई उत्पादन र उद्यमसँग जोड्न मौद्रिक नीतिमा विशेष कार्यक्रम ल्याइने नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बताएका छन् ।
साना किसान विकास लघुवित्त वित्तीय संस्थाको २३औं स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा गभर्नर अधिकारीले युवालाई उत्पादन र उद्यमसँग जोड्न सके मात्र देशको अर्थतन्त्र सुधार भई बढ्दो विदेश पलायन हुने क्रम रोकिने प्रस्ट्याए । देशमै कृषि क्षेत्रमा सम्भावनाको बाटो देखाउन युवाहरूलाई लक्षित गरी विशेष कार्यक्रम ल्याइने उनको भनाइ छ ।
‘देशमा केही छैन, केही हुँदैन र केही सम्भव छैन भन्ने भाष्यको विकास गराउन खोजिएको छ, त्यो सत्य होइन । देश सम्भावनाले भरिपूर्ण भए पनि केही साना–साना कुरामा सुधार गर्न नसक्दा युवाशक्ति विदेश पलायन हुन बाध्य भएका हुन्,’ उनले भने, ‘राष्ट्र बैंकले ल्याउने मौद्रिक नीतिमा पनि युवा, महिला, कृषि, उद्यम र उद्यमशीलतालाई जोड दिन्छ ।’
सरकारको योजनाअनुसार अर्थ मन्त्रालयले युवाहरूलाई व्यावसायिक कृषि कर्जामा प्रदान गरिने ब्याज अनुदानसम्बन्धी कार्यविधि तयार पारेको र कार्यविधिअनुसार नै अनुदान वितरण गरिएको गभर्नर अधिकारीको दाबी छ । उद्यमशीलता विकास एवम् रोजगारी सिर्जना र वित्तीय पहुँच तथा साक्षरता विस्तारका लागि साना किसान विकास लघुवित्त र साना किसान सहकारीले महत्त्वपूर्ण भूमिका खेलेको उनले बताए ।