काठमाडौँ, २१ असार । कमेडीयन सन्दीप क्षेत्रीले ‘लाफ्टर फर लाइफ विद सन्दीप क्षेत्री’ कार्यक्रम गर्ने भएका छन् । झम्सिखेल अवस्थित मोक्षमा आयोजना हुने कार्यक्रममा दर्शकले केही फरक कमेडीको मज्जा दिन सक्ने सन्दीपले बताए ।
६ वटा शोको तयारी गरेको उनले बताएका छन् । उनका अनुसार हरेक शोमा फरक फरक पेसा–व्यवसायका मान्छेहरूलाई आमन्त्रण गर्ने जस्तो, एउटा शोमा शिक्षकहरु आमन्त्रित हुनेछन् भने अर्कोमा चिकित्सकहरू । एउटै पेसा व्यवसायमा आबद्ध व्यक्तिलाई एकै ठाउँमा राखेर उनीहरूको जीवन भोगाइसँग सम्बन्धित सामाग्री फस्कँदा त्यो बढी प्रभावकारी हुने उनको विश्वास छ ।
कार्यक्रम हेर्नका लागि कुनै शुल्क लाग्ने छैन । यस्तो शैलीको कार्यक्रम गर्नुको ध्येय भनेको ‘गुणको बदला गुण तिरेजस्तै’ भएको उनी बताउँछन् ।