काठमाडौँ, २० असार । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफ्नो व्यक्तिगत इच्छा विपरीत पार्टी सरकारमा जानुपर्ने परिस्थिति बनेको बताएका छन् ।
आज विराटनगर विमानस्थलमा सञ्चार कर्मीहरूसँग कुरा गर्दै उनले भने, ‘मेरो इच्छाले हुन्थ्यो भने अहिले पनि त्यही ठाउँमा हुन्थ्यो । यो सरकार बन्ने या नबने भन्ने कुरा व्यक्ति वा दलको कारणले हुँदैन रहेछ,’ ‘अहिलेको परिस्थिति बनेको वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहालको अस्थिरताको कारण नै हो । प्रचण्डको यति धेरै अस्थिर चरित्र नभएको भए अहिलेको अवस्था आउँदैन थियो । प्रचण्डले एमालेसँगै सरकार बनाएको ४ महिना पनि नपुग्दै अर्कैसँग लसपस गर्न हात खुट्टा पसारेपछि अहिलेको दुर्घटना निम्तिएको हो ।’
यद्यपि कांग्रेस र एमालेको सङ्ख्याले मात्रै संविधान संशोधन गर्न नपुग्ने उनले बताए । ‘हामी सबैलाई साथमा लिएर संविधान संशोधन गर्ने हो,’ उनले भने ।