काठमाडौँ, १४ असार । भारत आइसिसी टी-२० विश्वकपको फाइनलमा पुगेको छ ।
गएराति वेस्ट इण्डिजको गुएनास्थित प्रोविडेन्स स्टेडियममा इंग्ल्याण्डलाई ६८ रनले पराजित गर्दै भारत फाइनलमा पुगेको हो ।
१७२ रनको लक्ष्य पछ्याएको इंग्ल्याण्डलाई भारतले १६.४ ओभरमा अल आउट गर्दै १०३ रनमा समेट्यो । त्यस क्रममा अक्षर पटेल र कुलदीप यादवले ३/३ तथा जसप्रित बुमराहले २ विकेट लिए ।
इंग्ल्याण्डका लागि ह्यारी ब्रूकले बनाएको २५ रन सर्वाधिक रह्यो । कप्तान तथा ओपनर जोश बट्लरले १५ बलमा चार चौका हानेर २३ रन बनाएका थिए । जोफ्रा आर्चरले १५ बलमा १ चौका र २ छक्का हानेर २१ रन बनाए । लियाम लिभिङस्टोनले ११ रन जोडे । त्यसबाहेकका ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । ओपनर फिल सल्ट ५ रन, मोइन अली ८ रन, साम करण २ रन, क्रिस जोर्डन १ रन, आदिल रसिद २ रनमा आउट हुँदा जोनी बैर्स्टो शून्यमा आउट भए ।
पहिले ब्याटिङ गरेको भारतले ७ विकेट गुमाएर १७१ रन बनाएको थियो । त्यस क्रममा कप्तान तथा ओपनर रोहित शर्माले अर्धशतक हाने। उनले ३९ बलमा ६ चौका र २ छ्क्का हानेर ५७ रन बनाए।
त्यस्तै सूर्यकुमार यादवले ३६ बलमा ४ चौका र २ छक्का प्रहार गरी ४७ रन जोडे। हार्दिक पाण्ड्याले १३ बलमा २३ रन बनाउँदा १७ रन बनाउँदै रवीन्द्र जडेजा नट आउट रहे । ओपनर विराट कोहली ९ रन र रिशभ पन्त ४ रनमा आउट हुँदा शिवम् दुबे शून्यमा आउट भए । बलिङतर्फ इंग्ल्याण्डका क्रिस जोर्डनले ३ तथा अदिल रिस टोप्ले, जोफ्रा आर्चर, साम करण र अदिल रसिदले १/१ विकेट लिए ।







