काठमाडौँ, १३ असार । काठमाडौं उपत्यकामा सोमबारदेखि मेलम्चीको पानी ल्याउन बन्द गरिएसँगै विकल्प खोज्न थालिएको छ । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले शिवपुरी डाँडामा रहेको धाप ड्यामको पानी वितरण गर्ने तयारी गरेको हो ।
केयूकेएलका अनुसार धाप ड्यामबाट दैनिक तीनदेखि चार करोड लिटर पानी ल्याउने तयारी छ । सुन्दरीजलमाथि रहेको वाग्मतीबाट पनि डेढदेखि दुई करोड लिटर पानी ल्याइनेछ । दुवैबाट गरी दैनिक करिब ६ करोड लिटर पानी आउने केयूकेएलले जनाएको छ । तर, यतिले मात्र काठमाडौं उपत्यकामा खानेपानीको माग पूरा हुनेछैन ।
उपत्यकामा पानीको माग दैनिक ४७ करोड लिटर छ । मेलम्चीबाट आउने १७ करोड र अन्य स्रोतबाट प्राप्त गरी करिब २३ करोड लिटर पानी वितरण हुँदै आएको थियो । केयूकेएलको सेवाभित्र उपत्यकाका तीन जिल्लामा मात्र २ लाख ५६ हजार धारा छन् । मनसुन सक्रिय नहुँदा उपत्यकामा पानीका स्रोत सुक्न थालेका छन्, जसले मेलम्चीको पानी वितरण नहुने क्षेत्रका स्थानीय महँगो पैसा तिरेर ट्यांकरको पानी किन्न बाध्य छन् ।
अब त्यति नै पानी वितरण गर्न नसकिए पनि समस्या हुन नदिने केयूकेएलका सूचना अधिकारी प्रकाशकुमार राईले जानकारी दिए । उनका अनुसार बिहीबारदेखि केयूकेएलले पानी वितरणको समय तालिका परिवर्तन गर्ने तयारी छ । ‘मेलम्चीबाट आएको पानी जसरी माग धान्न सकिँदैन, तर मनसुन सक्रिय भए अरू मुहानमा पानीको स्रोत बढ्नेछ,’ उनले भने, ‘त्यसैले दिन बिराएर पानी वितरण गर्छौं ।’
धाप ड्यामबाट मंगलबारदेखि पानी ल्याउन सुरु गरिसकिएको बताउँदै उनले सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्रमा प्रशोधन गरेर वितरण गरिने जानकारी दिए । ‘मनसुन सक्रिय भएपछि वाग्मतीमा पनि पानी बढ्ने भएकाले थप ६ करोड लिटर ल्याउन सकिन्छ भन्नेमा छौं,’ उनले भने, ‘यसो गर्न सकिए धेरै सहज हुनेछ ।’ मेलम्ची, याङ्ग्री र लार्के खोलाबाट नियमित रूपमा पानी नआएसम्म पानीको समस्या यस्तै भइरहने उनको भनाइ छ ।
असार १ देखि मेलम्चीको पानी काठमाडौं ल्याउन बन्द गर्ने भनिएको थियो । तर, मनसुन सक्रिय नभएपछि बन्द भएको थिएन । सोमबार बाढी आएर पानी धमिलिएपछि बन्द गरिएको मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक रत्न लामिछानेले बताए । ‘बाढीले मुहानसम्म पुग्ने अस्थायी रूपमा बनाएको बाटो बगाइदिएको छ, त्यसैले मनसुन नरोकिँदासम्म पानी पठाउन बन्द गरिएको हो,’ उनले भने, ‘सबैको सहयोग पाए दसैंअघिसम्म फेरि काठमाडौंमा पानी पठाउनेछौं ।’
उनका अनुसार असोजसम्मका लागि पानी बन्द गरिएको हो । ‘खडेरी परिरह्यो, काठमाडौंमा पानीका मूल सुकेर समस्या भयो भने सबैको सहयोगमा बाढी नआएको खण्डमा पानी ल्याउन समस्या हुने छैन,’ उनले भने, ‘त्यसका लागि खोलामा धमिलो पानी आउनुभएन ।’
२०७८ असारको बाढीले मेलम्ची मुहान क्षेत्रलाई क्षति गरेपछि काठमाडौं उपत्यकामा निरन्तर पानी वितरण हुन सकेको छैन । गत असारमा बन्द गरिएको मेलम्चीको पानी ६ महिनापछि अर्थात् गत माघ १ देखि उपत्यकामा वितरण गरिएको थियो । तीन वर्षदेखि मेलम्चीको पानी सुक्खा मौसममा मात्र काठमाडौंमा वितरण हुँदै आएको छ ।
हरेक बर्खामा मेलम्चीको मुहानमा पानी पथान्तरणका लागि बनाइएको ‘इन्टेक’ (हेडवर्क्स क्षेत्र) बाढीको चपेटामा पर्ने गरेको छ । मुहान सुरक्षित ठाउँमा छैन । जुनसुकै बेला आउने बाढीले मुहान पुर्ने खतरा छ । यसलाई सुरक्षित ठाउँमा सार्ने गरी डिजाइन हुने भएको छ । त्यसका लागि डिजाइन गर्ने गरी अन्तर्राष्ट्रिय परामर्शदाता एक साताभित्र छनोट गर्ने तयारी रहेको समितिका कार्यकारी निर्देशक लामिछानेले बताए । काठमाडौंमा बाह्रै महिना पानी ल्याउन मिल्ने गरी अहिले भएको स्थानबाट माथितर्फ सर्कथली क्षेत्रमा ८ सय मिटर दूरीमा इन्टेक सार्ने तयारी छ ।
दोस्रो र तेस्रो चरणमा याङ्ग्री र लार्के खोलाबाट थप १७/१७ करोड लिटर पानी ल्याइनेछ । तीन चरण गरेर दैनिक ५१ करोड लिटर पानी काठमाडौं ल्याउने भनिए पनि योजना पूरा भएको छैन । मेलम्ची खानेपानीका लागि काठमाडौं उपत्यकामा १ हजार ७ सय किमि नयाँ पाइपलाइन विस्तार गरिसकिएको छ । स्वयम्भू, ताहाचल, बालुवाटार, विशालनगर, पानीपोखरी, मन्डिखाटार र चाबहिल क्षेत्रमा ७ सय ६० किमिमध्ये ७ सय किमि पाइप बिछ्याइएको मेलम्ची उपआयोजना–२ ले जनाएको छ । कान्तिपुर