एजेन्सी, १२ असार । अमेरिकी राष्ट्रपति जो बाइडेनको प्रशासन युक्रेनमा अमेरिकी सैन्य ठेकेदारहरूलाई खटाउनमा लगाइएको प्रतिबन्ध हटाउने नजिक पुगेको छ ।
अमेरिका सो निर्णयमा पुग्न थालेको भन्दै सीएनएनले समाचार छापेको छ । सो मामिलाबारे जानकार चार अमेरिकी अधिकारीहरुले अमेरिका उक्त निर्णयमा पुग्न थालेको समाचारमा जनाइएको छ । युक्रेनी सेनालाई अमेरिकाले उपलब्ध गराएको हतियार प्रणाली जोगाउन र बिग्रिएमा सोको मर्मत सम्भारमा मद्दत गर्न यो कदम चाल्न लागिएको हो ।
युक्रेन नीतिमा यो बाइडेन प्रशासनको अर्को ठूलो फड्को हो । अमेरिकाले रुससँगको युद्धमा युक्रेनी सेनालाई बलियो बनाउन खोजिरहेको छ । यो नीतिमा बाइडेन प्रशासनका अधिकारीहरूले अझै पनि काम गरिररहेको बताइएको छ ।