काठमाडौँ, ११ असार । बलिउड अभिनेत्री कंगना रनौत आफ्नो आगामी फिल्मलाई लिएर चर्चामा छिन् । उनको आगामी फिल्म ‘इमर्जेन्सी’ लामो समयदेखि चर्चामा छ । फिल्मलाई कंगनाले नै निर्माण तथा निर्देशन गरेकी हुन् ।
तर यो फिल्मको रिलिज मिति तीन पटक सरिसकेको छ । अब फेरि यो फिल्मको नयाँ रिलिज मिति घोषणा गरिएको छ । ‘इमर्जेन्सी’ अब आगामी सेप्टेम्बरमा प्रदर्शन हुने भएको छ ।
कंगनाले सामाजिक सञ्जालमार्फत फिल्म रिलिजबारे घोषणा गरेकी छन् । यो फिल्म सेप्टेम्बर ६ देखि सिनेमा हलमा प्रदर्शन हुनेछ । फिल्मबारे कंगना रनौतले भनिन्, ‘म विलियम शेक्सपियरको म्याकबेथबाट प्रेरित हुँ । इमर्जेन्सीको सार नैतिक अवरोधहरूले महत्वाकांक्षालाई अनचेक गरेमा हुने विनाश हो, यो नि:सन्देह भारतीय लोकतन्त्रको सबैभन्दा सनसनीपूर्ण अध्याय हो । म यसको लागि उत्सुकतापूर्वक पर्खिरहेको छु । ६ सेप्टेम्बर २०२४ मा विश्वव्यापी रिलिज ।’