काठमाडौँ, ९ असार । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले नेपालमा बोलिने सबै भाषा, साहित्य, संस्कृति र सामाजिक शास्त्र दर्शनको संरक्षण, संवर्द्धन र विकासमा सरकार प्रतिबद्ध रहेको बताएका छन् ।
आज काठमाडौँमा ललितकला प्रज्ञा प्रतिष्ठानको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री तामाङले नेपाल प्रज्ञा प्रतिष्ठानमार्फत भाषा, साहित्य, संस्कृति, दर्शनको विकासका लागि नेपाल सरकारको तर्फबाट गर्न सक्ने अधिकतम सहयोग गर्न बजेटको व्यवस्था गर्ने प्रयास गरिएको बताए ।
उनले भने, ‘नेपाल सरकार नेपालमा बोलिने सबै भाषा, साहित्य, संस्कृति, सामाजिक शास्त्र दर्शनको संरक्षण, संवर्द्धन र विकासमा सचेत र प्रतिबद्ध छ । अहिले विश्वव्यापी रूपमा देखापरेको आर्थिक सङ्कटबाट हामी पनि प्रभावित छौँ । त्यसैले चाहना हुँदाहुँदै पनि सरकारका तर्फबाट पर्याप्त बजेटको व्यवस्था गर्न हामीलाई गाह्रो भएको छ । र पनि नेपाल प्रज्ञा प्रतिष्ठानमार्फत भाषा, साहित्य, संस्कृति, दर्शनको विकासका लागि नेपाल सरकारको तर्फबाट गर्न सक्ने अधिकतम सहयोग गर्न बजेटको व्यवस्था गर्ने प्रयास गरिएको छ ।’