काठमाडौँ, ९ असार । संघीय संसद् सचिवालयका कर्मचारीको माग सम्बाेधन गर्न कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी नेतृत्वकाे तीन सदस्य टोली गठन गरिएको छ ।
आज बिहान बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा बसेको प्रधानमन्त्री, सभामुख, राष्ट्रियसभा अध्यक्षसहित शीर्षस्थ नेताहरूको बैठकले आन्दोलनरत कर्मचारीको मागबारे सहजीकरण गर्न कानुनमन्त्री गिरीको नेतृत्वमा संघीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेय र अर्थसचिव मधुकुमार मरासिनीलाई जिम्मेवारी तोकेको सभामुखको सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड समेतको उपस्थितिमा बसेको बैठकमा सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल, पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, अर्थमन्त्री वर्षमा पुन र कानुनमन्त्री गिरी सहभागी थिए । बैठकमा मुख्य सचिव डा. बैकुण्ठ अर्याल र संघीय संसद्का महासचिव पाण्डेय पनि उपस्थित थिए ।