काठमाडौँ, ७ असार । आजदेखि मेलम्ची नदीको पानी काठमाडौँ पठाउन बन्द गर्ने भने पनि तत्काल बन्द नहुने भएको छ ।
आजदेखि आयोजना बन्द गर्ने तयारी गरे पनि मेलम्ची नदीको पानी नधमिलिएकाले सावधानी अपनाएर काठमाडौँ उपत्यकामा पानी पठाइने मेलम्ची खानेपानी विकास समितिले जनाएको छ ।
बाग्मती प्रदेशमा मनसुन सक्रिय भएसँगै मनसुनजन्य विपद्बाट आयोजना जोगाउन सरकारले आयोजना बन्द गर्ने तयारी गरेको थियो । गएको जेठ ३१ गते आयोजना बन्द गर्ने भनिएकाेमा ठूलो वर्षा नहुँदासम्म पानी बन्द नगर्ने निर्णय भएपछि निरन्तर सञ्चालन गरिएको मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक रत्न लामिछाने बताए । तर नदीमा पानी धमिलो भएमा जुनसुकै बेला बन्द गरिने भएको छ ।