वासिङ्टन डीसी, ७ असार । अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको चुनावी अभियानमा एक दाताले ५ करोड डलर दान दिएका छन् ।
बीबीसीका अनुसार अर्बपति टिमोथी मेलनले ट्रम्पको चुनावी अभियानलाई सो सहायता गरेको छ । मेलन पिट्सबर्गस्थित मेल बैंकिङ परिवारका एक उत्तराधिकारी हुन् । ट्रम्पको अभियानका लागि अर्को १ करोड डलर भने अर्बपति लिज र डिक यूइह्लिनले दिएका छन् ।
आफ्नो व्यापार व्यवसायको हरहिसाब बढाइचढाइ गरेको मामिलामा ट्रम्पमाथि ३४ ओटा अभियोग लागेको भोलिपल्ट मेलनले उनलाई सो रकम दान दिएको अमेरिकी सञ्चार माध्यमहरूले बताएका छन् । राष्ट्रपतिका स्वतन्त्र उम्मेदवार रोबर्ट एफ केनेडी, जुनियरका लागि पनि मेलन सबैभन्दा ठुला एकल दाता हुन् । उनले केनेडीलाई कम्तीमा २ करोड डलर दान दिएका छन् ।