काठमाडौँ, ५ असार । नेकपा (एमाले)का प्रमुख सचेतक महेश बर्तौलाले दुग्ध किसानको भुक्तानी छिट्टै दिन माग गरेका छन् ।
आजको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै उनले दुग्ध किसानको भुक्तानी छिट्टै दिन माग गरेका हुन् । उनले भने, “राज्यको तर्फबाट वातावरण बनाइदिएर निजी डेरीको तर्फबाट किसानहरूले पाउनुपर्ने दूधको भुक्तानी वक्यौता अविलम्ब प्राप्त होस् । भुक्तानी गरियोस्,” ।
उनले आज बिहान दुग्ध विकास संस्थान, लैनचौरको गेटमा धर्ना बसेका ४५ भन्दा बढी किसानलाई प्रहरीले गिरफ्तार गरेको बताए । उनीहरूलाई कालीमाटी हिरासतमा राखिएको र भेट्दा मर्यादित व्यवहार नगरेको गुनासा आफूलाई सुनाएको बताए ।
किसानहरूको माग जायज रहेको बर्तौलाले बताए । “किसानहरूको माग जायज छ । उहाँहरूले सरकारलाई निजी डेरीलाई दूध बेच्नुभयो । दूध बेचेको रकम भुक्तानी गर्नका लागि आन्दोलन गर्नुपर्ने परिस्थितिमा किसान पुगे,” उनले भने, “डीडीसीबाट र सरकारबाट झन्डै दुई अर्ब रकम प्राप्त गर्नुपर्नेछ । निजी डेरीबाट झन्डै तीन अर्ब भुक्तानी लिनुपर्नेछ ।”